माओवादी दल खारेजको निवेदन अनैतिक तत्वको काम
गत बुधबार नेकपा माओवादी केन्द्र अवैध रहेकाले खारेज गरी पाउँ भन्दै निर्वाचन आयोगमा दिइएको निवेदन अवसरवादी र अनैतिक तत्त्वको काम भएको भन्दै माओवादीले एक विज्ञप्ति जारी गरी पार्टीलाई बदनाम गराउन निवेदन दर्ता गराएको बताएको छ ।
एमालेमा रहेका माओवादीका नेताहरूले अधिवक्ता सरोज बुढाथोकीमार्फत् बुधबार आयोगमा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि निवेदन दर्ता गराएका थिए ।
शुक्रबार माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यसप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको जनाउँदै केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्त्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको जनाइएको छ ।
माओवादी केन्द्र खारेज गर्न दिएको निवेदन कहाँ पुग्यो ?
विज्ञप्तिमा भनिएको छ, ‘संविधान, कानुन, विधि विधान विपरीत दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।’
माओवादी केन्द्रले पार्टीसँग सरोकार नभएको व्यक्ति निवेदक रहेको र दल दर्ता खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रियाका बारेमा जानकारी नहुनेले त्यस्तो हरकत गर्नु हास्यास्पद भएको बताएको छ ।
०६९ देखि महाधिवेशन नभएको भन्दै नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको दर्ता खारेजी गर्नुपर्ने माग आयोगमा दर्ता गराएको निवेदनमा छ ।
त्यस प्रकारका निवेदन दर्ता गरेर अनावश्यक भ्रम सिर्जना हुने भएकाले आइन्दा त्यसो नगर्न पनि माओवादी केन्द्रले आयोगलाई आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्