कर्पोरेट/पर्यटन

एक हप्तालाई अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी !

‘कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र’ (सीसीएमसी) निर्देशक समितिले हाल कायम अन्तर्राष्ट्रिय हवाई उद्धार उडानसम्बन्धी तालिकालाई पुनः परिभाषित गरी जुलाई १२ पछिका एक हप्ताका लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका स्वीकृत गर्ने तयारी गरेको छ ।

बैठकले कायम रहेको उडान तालिकालाई पुनः परिभाषित गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुलाई १२ पछिका एक हप्ताका लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका तयार गर्ने र त्यसलाई स्वीकृत गर्ने तयारी गरेको हो ।

त्यसै गरी बैठकले मुलुकभर कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारलगायत कार्यलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा गर्न सीसीएमसी निर्देशक समितिको संरचनामा केही व्यक्ति थप गर्न प्रस्ताव गरिएको छ ।

सीसीएमसी निर्र्देशक समितिको संरचनामा काठमाडौँ उपत्यकामा रहेका नगरप्रमुखहरूको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई आमन्त्रित सदस्यका रूपमा आमन्त्रण गर्ने बारेमा छलफल गरेको छ । साथै समितिको प्रादेशिक संरचनामा स्वास्थ्य निर्देशनालयका प्रमुख र जिल्लास्तरीय संरचनामा जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुखलाई थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेबारे छलफल भएको समितिले जनाएको छ ।

बैठकमा उद्योगका मेशिन उपकरण मर्मत जस्ता कार्यका लागि अति आवश्यक प्राविधिक विदेशबाट ल्याउनु परेमा नेपाल आउन अनुमति दिने सम्बन्धमा स्वीकृतिका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेबारेमा समेत छलफल भएको थियो ।

यसैगरी नेपालमा लगानी गरेका लगानीकर्ता वा निजका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेको बहुराष्ट्रिय निगमका व्यवस्थापक, कर्मचारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था प्रमुख वा कार्यरत कर्मचारीलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्ने गरी नेपाल आउने सम्बन्धमा सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नेबारे बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.