राजनीति

एमाले कार्यदलमा सहमति हुँदै, सदस्यहरु हस्ताक्षरको तयारीमा

नेकपा (एमाले)मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग आन्तरिक परामर्शपछि सहमतिको बुँदालाई अन्तिम रुप दिन कार्यदलका सदस्यहरु अहिले बिहान साढे नौ बजेदेखि बैठकमा जुट्नुभएको हो ।

कार्यदलले तयार गरेको सहमतिको खाकालाई शीर्षनेतासँगको परामर्शमा भाषिक परिमार्जन गरेर सार्वजनिक गर्न लागिएको हो ।

कार्यदलका सदस्यहरुले सहमतिलाई हस्ताक्षरसहित अन्तिम रुप दिएपछि आज दिउँसोका लागि स्थायी कमिटी बैठक बोलाउने तयारी एमालेले गरेको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज दिउँसोका लागि स्थायी कमिटी बोलाउने तयारी भएको बताउनुभयो । स्थायी कमिटी बैठकमा सहमतिका बुँदाबारे सामान्य व्रिफिङपछि अनुमोदन हुने नेता तामाङले जानकारी दिनुभयो ।

दश सदस्यीय कार्यदलका सदस्यहरु पछिल्लो समय गत सोमबारदेखि घनीभूत छलफलमा जुट्नुभएको छ । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल सदस्य रहनुभएको छ । त्यस्तै नेता नेपालको तर्फबाट भीमबहादुर रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य हुनुहुन्छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.