राजनीति

“खोपका अभावमा नागरिक तड्पिनु पर्दैन”

जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।” उहाँले यस वर्षको अन्तिम (सन् २०२१) भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “अब खोपको अभावबाट हामी तड्पिनुपर्ने अवस्था आउँदैन, केही समय त्यस्तो स्थिति आउला कि जस्तो देखिएको थियो, अब नपाउने स्थिति हामीकहाँ छैन, सबैलाई खोप लगाएर सुरक्षित राख्न सक्छौँ ।” उहाँले स्वास्थ्य क्षेत्रमा उपचारका सुविधा बढाउँदै नेपाली जनताको जीवन रक्षामा सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कोभिडको तेस्रो/चौथो लहरतर्फ सचेतता

‘जीवन पहिला’ भन्ने नाराका साथ कोभिडविरुद्धको लडाइँ अघि बढाइएको उहाँले स्मरण गराउनुभयो । “जनताको जीवन नै सबैभन्दा ठूलो प्राथमिकताको विषय हो, त्यो नै ठूलो सम्पत्ति हो र जीवनको रक्षा सबैभन्दा ठूलो कर्तव्य हो”, प्रधानमन्त्रीले भन्नुभयो । उहाँले स्वास्थ्य सेवाको पर्याप्तता नभएको र साधन स्रोतको न्यूनता रहेको नेपालमा ठूलो सफलताका साथ कोभिड नियन्त्रण गरिएको बताउनुभयो । कोभिडको तेस्रो÷चौथो लहर चल्छ भन्ने कुरा आएको तर्फ सचेत गराउँदै प्रधानमन्त्रीले नागरिकलाई लापरवाही नगरी सजगता अपनाउन आग्रह गर्नुभयो ।

वीर अस्पताल विविध कारणले सञ्चालन परिचालन र विकास अपेक्षाकृत हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै उहाँले मानवीय र सेवाभावबाट प्रेरित भएर सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी सेवामा जुट्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले बिरामी र आफन्तसँग गरिने व्यवहारमा सुधारको खाँचो औँल्याउँदै स्वास्थ्य बलियो राख्न खानपिन र आहारविहारमा सुधार गर्न नागरिकलाई सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले विगतमा जस्तो नभई वर्तमान नेपालको चिकित्सा क्षेत्र धेरै बलियो भइसकेको धारणा व्यक्त गर्नुभयो । “हिजो हामीकहाँ धेरै अभाव थियो, मेरै मिर्गाैला प्रत्यारोपण (२०६४ साल साउन) भारतमा गरिएको थियो, अहिले नेपालमा सफलताका साथ प्रत्यारोपण हुने स्थिति आएपछि दोस्रोपटक नेपालमै गर्न पाएको छु ”, प्रधानमन्त्रीको भनाइ थियो । उहाँले बाहिरभन्दा सफलतापूर्वक र व्यवस्थित ढङ्गले नेपालमा उपचार पद्धतिको विकास भएको आफ्नै अनुभव सुनाउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो मिर्गाैला प्रत्यारोपण गर्दा रु सात/आठ लाख लागेकामा त्यही उपचार बाहिर भएको भए कम्तीमा रु २० देखि २५ लाख लाग्ने जिकिर गर्नुभयो । कोरोना महामारीका बेला पहिलो पटक हङ्कङमा स्वाब परीक्षण गराउनुपरेको यथार्थ सुनाउँदै प्रधानमन्त्री ओलीले अहिले १०० भन्दा बढी ठाउँबाट परीक्षण भइरहेको जानकारी गराउनुभयो ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति बढिरहेको, विशिष्टीकृत अस्पताल बनेको, उपकरण उपलब्धताका हिसाबले समेत चिकित्सा क्षेत्र धेरै माथि बढिसकेको जनाउँदै उहाँले तीन वर्षमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई सरकारले पनि सबै हिसाबले आधुनिक र सुविधायुक्त बनाउँदै लगेको जानकारी दिँदैै प्रधानमन्त्री ओलीले भन्नुभयो, “ज्ञान, शास्त्र, अक्षर, गणित र अङ्क नेपालमै उत्पन्न भएको हो, यसलाई फेरि पनि ज्ञानको उत्पादन र वितरणको केन्द्र बनाउनुपर्छ ।”

स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन अनुरोध

नेपालमा जस्तो सस्तो उपचार कहीँ पनि नभएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन सम्बद्ध सबैमा अनुरोध गर्नुभयो । उहाँले वीर अस्पतालले पुरानो प्रभाव र प्रतिष्ठालाई अझै माथि उठाउने विश्वास व्यक्त गर्दै चिकित्सा उपचार गरेर मात्रै नहुने भएकाले बिरामीप्रति गर्ने व्यवहार र मनोवैज्ञानिक उपचारतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

अस्पताल भवन मात्रै नभई सेवाको मन्दिर हो भन्ने भावनाका साथ काम गर्न प्रधानमन्त्री ओलीले कर्मचारीलाई सुझाव दिँदै अस्पताललाई पूर्ण क्षमतामा लैजान निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले वीर अस्पतालको भवनलगायत विभिन्न परियोजना समयमै निर्माण सम्पन्न गरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो । उहाँले चिकित्सा सेवाको आवश्यकता बोध गरी यस क्षेत्रमा नयाँ थालनी गर्ने वीरशम्शेरप्रति पनि आदरभाव व्यक्त गर्नुभयो ।

समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा देवनारायण शाहले नवनिर्मित सर्जिकल भवन ५०९ श्ययाको रहने जानकारी गराउनुभयो । सर्जिकल विधाको सेवा, शिक्षा र अनुसन्धानमा यसले नयाँ आयाम थप्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणका क्रममा दुर्घटनामा मृत्यु भएका दुई मजदूरका परिवारलाई अस्पतालबाट हुने सबै स्वास्थ्य सेवा उपलब्ध गराइने घोषणासमेत गर्नुभयो ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रा डा जागेश्वर गौतमले अस्पतालबाट विशिष्टीकृत विशेषज्ञ सेवा दिइने जानकारी गराउँदै सरकारबाट थप रु पाँच अर्ब प्राप्त भए अस्पतालले सेवा निःशुल्क गर्न सक्ने पनि जानकारी दिनुभयो । समारोहमा भवन निर्माण गर्ने एक चिनियाँ र दुई नेपाली कम्पनी (जेडआइइसी–शर्मा रसुवा जेभी) का प्रतिनिधि रमेश शर्माले सरकारले कोभिडका कारण छ महिना समयसीमा बढाएको भए उक्त समय पनि नलिई तोकिएको समय अगावै भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । भवन निर्माणको समय यही २०७८ कात्तिकसम्मको थियो । समारोहमा प्रधानमन्त्री ओलीले तोकिएको समयअगावै निर्माण सम्पन्न गरेकामा निर्माण कम्पनीलाई कदरपत्रसहित सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.