अमेरिका–इरान तनाव पुनः चर्किँदा पश्चिम एसियामा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता, सरकारको निरन्तर निगरानी
अमेरिका र इरानबीच पछिल्लोपटक सैन्य तनाव पुनः चर्किएसँगै पश्चिम एसियामा कार्यरत तथा बसोबास गरिरहेका नेपाली नागरिकको सुरक्षाप्रति पुनः चासो बढेको छ।
इरानले कतार, बहराइन, कुवेत र क्षेत्रका अन्य अमेरिकी सैन्य सुविधा तथा हितलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेपछि सुरक्षा अवस्था फेरि संवेदनशील बनेको छ।
यद्यपि परराष्ट्र मन्त्रालयले हालसम्म पश्चिम एसियामा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपाल सरकारले निरन्तर र नजिकबाट अनुगमन गरिरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त क्षेत्रमा रहेका नेपाली कूटनीतिक नियोगहरूबाट नियमित रूपमा अद्यावधिक विवरण प्राप्त भइरहेको छ र हालसम्म नेपाली नागरिकको अवस्था सामान्य रहेको छ।
“उक्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्था हाल सामान्य नै रहेको छ। उहाँहरूको सुरक्षा र हितका विषयमा नेपाल सरकार पूर्ण रूपमा सजग छ। सम्बन्धित नेपाली नियोगहरूले स्थानीय निकायसँग निरन्तर समन्वय गरिरहेका छन्,” प्रवक्ता पौडेलले भन्नुभयो।
युद्धविरामपछि फेरि बढ्यो तनाव
हालै अमेरिका र इरानबीच भएको प्रत्यक्ष सैन्य भिडन्तपछि अमेरिकी मध्यस्थतामा युद्धविरामको घोषणा गरिएको थियो। त्यसअघि अमेरिकाले इरानका आणविक कार्यक्रमसँग सम्बन्धित तीन प्रमुख केन्द्रमा हवाई आक्रमण गरेको थियो।
त्यसको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डालगायत अमेरिकी हितलाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। दुवै पक्षले त्यसपछि प्रत्यक्ष सैन्य कारबाही केही समयका लागि रोके पनि पछिल्ला घटनाक्रमले तनाव पूर्ण रूपमा अन्त्य नभएको संकेत गरेका छन्।
यसैबीच इरानले अमेरिकी सैन्य उपस्थिति तथा आफ्ना हितविरुद्ध हुने आक्रमणको जवाफ दिने चेतावनी दोहोर्याउँदै आएको छ भने अमेरिकाले पनि इरान समर्थित समूहका गतिविधिमाथि कडा निगरानी राख्ने जनाएको छ। यसले पश्चिम एसियाको समग्र सुरक्षा अवस्था अझै अनिश्चित रहेको विश्लेषण गरिएको छ।
ट्रम्पमाथि हत्या योजनाको आरोप पनि विवादको विषय
अमेरिकी प्रशासनले विगतदेखि नै इरानका केही सुरक्षा निकायसँग आबद्ध व्यक्तिहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आरोप सार्वजनिक गर्दै आएको छ। उक्त आरोप अमेरिकी न्याय मन्त्रालयले समेत अभियोगका रूपमा अघि सारेको थियो।
तर इरानले भने त्यस्ता सबै आरोपलाई राजनीतिक प्रेरित र निराधार भन्दै निरन्तर अस्वीकार गर्दै आएको छ। यही आरोप–प्रत्यारोपले पनि दुई देशबीचको अविश्वासलाई थप गहिरो बनाएको विश्लेषकहरूको भनाइ छ।
नेपाल शान्तिपूर्ण समाधानको पक्षमा
प्रवक्ता पौडेलका अनुसार नेपालले पश्चिम एसियामा देखिएको तनावको समाधान सैन्य माध्यमबाट नभई संवाद, कूटनीतिक पहल र अन्तर्राष्ट्रिय कानुनको सम्मानमार्फत हुनुपर्ने धारणा निरन्तर राख्दै आएको छ।
उहाँले विश्व व्यापार तथा ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज जलमार्गको निर्वाध सञ्चालनका लागि भइरहेका अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको पनि बताउनुभयो।
आपतकालीन तयारीबारे अध्ययन सम्पन्न
पत्रकार सम्मेलनमा पश्चिम एसियाको सुरक्षा अवस्था थप बिग्रिए नेपाली नागरिकको सुरक्षाका लागि सरकारले के तयारी गरेको छ भन्ने प्रश्नमा प्रवक्ता पौडेलले परराष्ट्रमन्त्रीको संयोजकत्वमा यसअघि नै विशेष अध्ययन टोली गठन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त टोलीले युद्ध, क्षेत्रीय द्वन्द्व वा अन्य आपतकालीन अवस्थाका बेला सरकारले अवलम्बन गर्नुपर्ने रणनीति समेटिएको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
प्रतिवेदनमा ऊर्जा आपूर्तिको निरन्तरता, नेपाली नागरिकको उद्धार, कूटनीतिक समन्वय, सुरक्षित स्थानान्तरण तथा संकट व्यवस्थापनका विषयमा विभिन्न सिफारिस गरिएको र तीमध्ये केही कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको उहाँले बताउनुभयो।
खाडीमा रहेका नेपाली जोखिमको निगरानीमा
अमेरिका–इरान सम्बन्धमा पुनः तनाव बढेमा खाडी क्षेत्रमा कार्यरत लाखौँ विदेशी श्रमिकसँगै ठूलो सङ्ख्यामा रहेका नेपाली नागरिक पनि अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सम्भावना रहेको विज्ञहरूले औँल्याएका छन्। कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, बहराइन र साउदी अरेबियामा ठूलो सङ्ख्यामा नेपाली रोजगारीमा रहेका छन्।
परराष्ट्र मन्त्रालयले भने हालका लागि पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई स्थानीय प्रशासन तथा नेपाली दूतावासबाट जारी हुने सुरक्षा सूचनाको पालना गर्न, अनावश्यक रूपमा संवेदनशील तथा सैन्य गतिविधि भइरहेका क्षेत्रमा आवतजावत नगर्न तथा आवश्यक परे दूतावाससँग तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।




प्रतिक्रिया राख्नुहोस्