जन सरोकारबिशेष

राहदानी विभाग अगाडि एक पुरुषद्वारा आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै

त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आज एक पुरुषबाट आफ्नो शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनालगत्तै प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिई घाइते व्यक्तिको उद्धार गरिएको थियो। उहाँलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार घाइते व्यक्तिको परिचय खुल्न बाँकी रहेको छ भने आत्मदाह प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको छ।

नेपालमा पछिल्ला वर्षहरूमा सार्वजनिक स्थलमै आत्मदाहको प्रयास गर्ने घटनाहरू बढ्दो चिन्ताको विषय बन्दै गएका छन्।

आर्थिक, सामाजिक, व्यक्तिगत तथा राज्यका निकायबाट न्याय नपाएको अनुभूति जस्ता विभिन्न कारणले यस्ता घटनाहरू हुने गरेको प्रहरी तथा सरोकारवाला निकायले जनाउँदै आएका छन्।

२०७९ माघ १० गते इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा भोलिपल्ट आचार्यको निधन भएको थियो।

त्यस घटनाले सुरक्षा व्यवस्था, नागरिक गुनासा सम्बोधन गर्ने राज्यको क्षमता तथा मानसिक स्वास्थ्य सेवाको पहुँचबारे व्यापक बहस सिर्जना गरेको थियो।

त्यस अघि पनि काठमाडौँसहित देशका विभिन्न जिल्लामा सार्वजनिक स्थानमा आत्मदाहका प्रयास भएका थिए भने केही घटनामा उपचारका क्रममा ज्यानसमेत गएको थियो।

मनोविद्हरूले आत्मदाहजस्ता घटनालाई व्यक्तिगत निर्णयका रूपमा मात्र नभई मानसिक स्वास्थ्य, सामाजिक दबाब, आर्थिक संकट तथा प्रभावकारी परामर्श सेवाको अभावसँग जोडिएको गम्भीर सामाजिक चुनौतीका रूपमा लिनुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्।

यस्ता घटनाको पुनरावृत्ति रोक्न समयमै मनोसामाजिक परामर्श, नागरिक गुनासाको प्रभावकारी सुनुवाइ तथा संकटमा रहेका व्यक्तिलाई तत्काल सहयोग उपलब्ध गराउने संयन्त्रलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता पनि सरोकारवालाले औँल्याएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.