कर्पोरेट/पर्यटन

पुनर्जीवन पायो तीनसय वर्ष पुरानो 'निगु पुखुः'ले

साँझ ढल्कँदै थियो, वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रूपमा परिणत गरिरहेको थियो ।

बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा डुंगा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो ।

मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरीमध्ये दक्षिण तर्फको पोखरीमा शनिबार साँझको उद्घाटन सत्रमा देखिएको दृश्य हो यो ।

थिमि बोडेको कमलपोखरी र याता पोखरीको पानी आउने गरी करीब ३०० वर्षपहिले गङ्गा महारानीले सिँचाइ, आगलागी एवं पानीको स्रोतका लागि निर्माण गराएको ‘निगु पुखुः’ले पुनर्जीवन पाएसँगै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्नुभएको हो । विसं २०१५ मा तत्कालीन राजा महेन्द्र भक्तपुर आउँदा उहाँलाई स्वागत गर्न पानी निकालेपछि दुईपोखरी घाँसेमैदानमा परिणत भएको थियो ।

२०६५ सालमा नगरपालिकाले रु १० लाख खर्च फलामे बार लगाई संरक्षणको प्रयास गरे पनि केही वर्षयता पोखरीमा मङ्सिरमा धान सुकाउने र अन्य समयमा केटाकेटी खेल्ने मैदानका रूपमा परिणत हुँदै आएको थियो ।

कार्यक्रममा जनप्रतिनिधिको जिम्मेवारी सम्हालेपछि लिएको सङ्कल्प धमाधम पूरा गर्दै आएको नगरप्रमुख श्रेष्ठले ‘निगु पुखुः’ यसको ज्वलन्त उदाहरण भएको बताउनुभयो । नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरी निरञ्जन श्रेष्ठको अध्यक्षतामा गठन भएको पुनर्निर्माण तथा गुरुयोजना उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु गराएको थियो ।

कूल रु १५ करोडको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएकामा चालू आव ०७६÷७७ मा रु एक करोड २५ लाख र वाग्मती प्रदेशले रु ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिँदैे दक्षिण तर्फका पोखरीको पुनर्निर्माण सकिएको र उत्तर तर्फको ठूलो पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको बताउनुभयो ।

पोखरीको चारैतिर माः अप्पा, दाची अप्पाः इँटामा चुना सुर्कीको प्रयोग गरी पर्खाल लगाएको छ भने चारैतर्फ कलात्मक ढोका राखिएको छ । पोखरीमा तल कालीमाटी, बीचमा पाङ्गो माटो र माथि पुनः कालीमाटी गरी १५ इञ्च माटो र त्यसमाथि इँटा बिछ्याएर पानी भरिएको छ । यस प्रविधिले पोखरीमा पानी नसुक्ने जानकारी दिँदै उहाँले स्थानीय इनाय टोलको राजगणेशदेखि दिगु भैरव मन्दिरसम्मको आकासेपानी सङ्कलन गरी प्रशोधन गरेपछि पोखरीमा खसाल्ने योजना रहेको बताउनुभयो । दुई पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठवटा फल्चा अर्थात् पाटी निर्माण गरिँदैछ ।

कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठले दुईपोखरी क्षेत्रलाई नगरको प्राचीन एवं ऐतिहासिक संस्कृतिको प्रदर्शनस्थल एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने जानकारी दिनुभयो । मध्यपुरथिमि भित्रका ऐतिहासिक सम्पदाको संरक्षण एवं जीर्णोद्वार गर्दै ओझेलमा परेको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.