बिहिबारदेखि साझाका २६ वटा बस आठ रुटमा चल्ने (रुटसहित)
सरकारले सार्वजनिक यातायात आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर संचालन गर्ने निर्णय गरेसंगै केही यातायात कम्पनीले उपत्यकामा सवारी चलाउन सुरु गरेलगत्तै साझा यातायातले पनि बिहिबारदेखि उपत्यकाका विभिन्न आठ रुटमा बस संचालन गर्ने भएको छ ।
साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले दिएको जानकारी अनुसार सुरुआतका क्रममा २६ वटा बसले सेवा सुरु गर्ने र पछि यात्रुको चाप बढ्दै गएमा अन्य बसहरु पनि सञ्चालन हुनेछ ।
उहाँले भन्नुभयो ‘सरकारले तोकेका मापदण्ड पुरा गरेर साउन १ देखि उपत्यकाका ८ रुटमा २६ बस सञ्चालन हुने छ’ । साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने यात्रुहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न पनि आग्रह गरेको छ ।
साझाका बसहरु लगनखेल-रत्नपार्क-टिचिङ हुँदै नयाँ बसपार्क । लगनखेल-रत्नपार्क-टिचिङ हुँदै बुढानिलकण्ठ । गोदाबरी,-लगनखेल हुँदै रत्नपार्क । लामाटार-लगनखेल हुँदै रत्नपार्क र लगनखेल, सातदोबाटो-कलंकी हुँदै थानकोट । लगनखेल-नयाँ बानेश्वर-चाबहिल हुँदै नयाँ बसपार्क । रत्नपार्क-कलंकी-स्वयम्भू हुँदै बालाजु र रत्नपार्क-नयाँ बानेश्वर-कोटेश्वर हुँदै सूर्यविनायकसम्म चल्नेछ ।