जन सरोकार

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित लालपुर्जा उपलब्ध गराएपछि सुकुम्वासी समस्या समाधान भएको छ । नगरपालिकाले पहिचान भएका १८ सुकुम्वासी परिवारलाई जग्गा खरिद गरेर घर निर्माण गरी लालपुर्जा हस्तान्तरण गरेको छ ।

नगर उपप्रमुख हरिहर शर्माका अनुसार सुकुम्वासी समस्या समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल सुरु गरिएको थियो । सबै सुकुम्वासी परिवारले घर, जग्गा र लालपुर्जा पाए पनि नगरपालिकालाई औपचारिक रूपमा सुकुम्वासीमुक्त घोषणा गर्न भने राष्ट्रिय भूमि आयोगमार्फत प्रक्रिया पूरा हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँले नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसअनुसार नगरपालिकाले सुकुम्वासीको पहिचान, जग्गा खरिद, घर निर्माण र लालपुर्जा वितरणको काम गरेको बताउनुभयो ।

नगरपालिकाले सुकुम्वासीका साथै प्राकृतिक विपद्का कारण विस्थापित तथा आर्थिक अभावका कारण घर बनाउन नसकेका ४४ परिवारका लागि पनि घर निर्माण गरिदिएको छ ।

त्यसका लागि नगरपालिकाले कार्यविधि बनाएर घरविहीन परिवारलाई रु तीन लाख, विपद्का कारण घर गुमाएका परिवारलाई रु दुई लाख ५० हजार र आर्थिक अभावका कारण घर पुनर्निर्माण गर्न नसकेका परिवारलाई रु दुई लाख सहयोग उपलब्ध गराएको उपप्रमुख शर्माले जानकारी दिनुभयो ।

पहिलो चरणमा तीन पुस्तासम्म घर नभएका परिवारलाई आवास निर्माण गरिएको थियो । दोस्रो चरणमा विपद् वा आर्थिक समस्याका कारण आफ्नै घरमा बस्न नसकी अरूकै घरमा आश्रित परिवारलाई घर निर्माण गरेर बसोबासको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

घर प्राप्त गर्ने स्थानीय उषा नेपालीले नगरपालिकाको सहयोगपछि स्थायी रूपमा बस्ने ठाउँको चिन्ता हटेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी समस्यामा पर्दा नगरपालिकाले घर बनाइदियो । अहिले गरिब र विपन्नको समस्या पनि सम्बोधन भएको अनुभूति भएको छ । घर पाएपछि अब बाँकी आवश्यकता मेहनत गरेर पूरा गर्न सकिन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.