जन सरोकार

देशभरका छ वटा राजमार्ग अवरूद्ध

निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका छ वटा राजमार्ग अवरूद्ध भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको शुक्रबार साँझसम्मको तथ्याङ्कअनुसार बाढीपहिरो, डुबानलगायत कारणले छ वटा राजमार्ग अवरूद्ध भएका हुन् ।

बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ ।

बिपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै गत जेठ २२ गतेदेखि बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो । उक्त सडकमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मात्र सवारीसाधन सञ्चालन हुने गर्दछन् ।

वर्षात्का कारण हुनसक्ने बाढीपहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरस्थित कान्ति लोकपथअन्तर्गत सञ्चालन हुने सवारीसाधन रातिको समयमा रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो । “वर्षाका कारण गत असार २३ देखि इलामको इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्गमा बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ”, उहाँले भन्नुभयो ।

केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले ढुङ्गासहितको पहरोका कारण अर्घाखाँची जिल्लाको सालझन्डी-ढोरपाटन सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिनुभयो ।

गत असार २८ देखि अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुङ्गेखोलास्थित सालझन्डी-ढोरपाटन सडकमाथिबाट ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको उहाँको भनाइ छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । गत असार ३१ गते भोटेकोशी गाउँपालिका-४, जिरोकिलाअन्तर्गत अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

त्यस्तै, शुक्रबार सिन्धुपाल्चोक भोटेकोशी गाउँपािलका-२ कोदारीस्थित अरनिको राजमार्गअन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ । उक्त खण्डमा सडकमाथिबाट ढुङ्गा माटोसहित लेदो खसेर आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागलुङ कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बागलुङ, जैमिनी नगरपालिका-८, बेलबगर कालीगण्डकी करिडोर सडकमाथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.