जल/वातावरण

मनसुन थप सक्रिय हुँदै, बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा अतिभारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानएको छ । विभागका अनुसार मेलम्ची वर्षामापन केन्द्रमा १०५ दशमलव चार मिलिमिटरसम्म वर्षा मापन गरिएको छ ।

हल्का वर्षा

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले आगामी दुई दिन देशभर मनसुनी गतिविधि थप सक्रिय हुने विभागले जनाएको छ ।

विभागका प्रवक्ता विभूति पोखरेलले आज र आइतबार देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको बताउनुभयो ।

उहाँका अनुसार देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि अतिभारी वर्षा हुन सक्नेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी–खोलामा बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रवक्ता पोखरेलले हवाई, पर्यटन, कृषि तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर सावधानी अपनाउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.