सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेल प्रशासनविरुद्ध कैदीबन्दीले थालेको आन्दोलन उग्र बन्दा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। घटनापछि कारागार परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
जेलर रूपक मण्डलले चौकीदार नियुक्तिको नाममा आर्थिक चलखेल गरी कैदीबन्दीबाट रकम असुलेको आरोप लगाउँदै उहाँको तत्काल सरुवाको माग गर्दै कैदीबन्दी तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन्।
आन्दोलन नियन्त्रणमा लिन प्रहरी कारागारभित्र प्रवेश गर्न खोजेपछि स्थिति थप तनावग्रस्त बनेको थियो। त्यसक्रममा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। कैदीबन्दीले आत्मदाहको प्रयास गर्न थालेपछि प्रहरी पछि हटेको जनाइएको छ।
राजबिराज नगरपालिका–१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भन्दै चौकीदार कामेश्वर यादवले गत जेठ ५ गते कारागारबाहिरका विनोद यादवमार्फत जेलर मण्डलको नाममा आफूबाट पाँच लाख रुपैयाँ घुस लिएको आरोप लगाउनुभएको छ।
यता, रकम असुलेको विषयमा विवाद चर्किएपछि चौकीदार कामेश्वर यादवलाई झुम्का कारागार सरुवा गर्ने तयारी गरिएको बताइएको छ। सोही विषयलाई लिएर ‘बी’ ब्लकका कैदीबन्दीमाथि कुटपिट भएको आरोपसमेत लगाइएको छ, जसपछि आन्दोलन थप चर्किएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारको शान्ति–सुरक्षा कायम गर्न प्रहरी भित्र प्रवेश गर्न खोज्दा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार अहिले कैदीबन्दीसँग समझदारी र छलफल भइरहेको छ र अवस्था क्रमशः सामान्य बन्दै गएको छ।
प्रमुख जिल्ला अधिकारी थापाले ‘बी’ ब्लकका चौकीदार राम रिझनले कैदीबन्दीप्रति समान व्यवहार नगरेको आरोपका कारण विवाद उत्पन्न भएको जानकारी दिनुभयो।
घटनापछि सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीलाई समेत कारागार परिसरमा प्रवेश गरी समाचार सङ्कलन गर्न रोक लगाइएको छ। प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्