अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन प्रभावित भएका छन् भने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग र कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएका छन्।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। त्यसैगरी बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको छ।
प्रहरीले अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी डोजर तथा प्राविधिक टोली परिचालन गरिएको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउने कार्यमा कठिनाइ भइरहेको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले मनसुनी प्रणाली सक्रिय रहेकाले आज र भोलि देशका विभिन्न प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरेको छ।
विभागले नदी तथा खोलामा आकस्मिक बाढी आउने, पहाडी तथा हिमाली क्षेत्रमा पहिरोको जोखिम बढ्ने र सडक यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा आवश्यकबाहेक जोखिमयुक्त क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ।




प्रतिक्रिया राख्नुहोस्