मिटरब्याजको आरोपमा बाबु, आमा र छोरा पक्राउ
जनकपुरमा एकै परिवार बाबु, आमा र छोरालाई अनुचित लेनदेख गरी चार करोडभन्दा बढी रकम ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
समाचार अनुसार दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरिएको हो ।
अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर रु ९९ लाख ऋण लिएका थिए ।
गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिइ गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी रु चार करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरु बरामद गरिएको प्रहरी उपरीक्षक खड्काको भनाइ छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्