जोर्डनको अमेरिकी सैन्य अखडामा इरानको हमला, दुई अमेरिकी सैनिकको मृत्यु, द्वन्द्व थप चर्कियो
जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानको मिसाइल तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु, एक जना बेपत्ता र चारजना घाइते भएपछि अमेरिकाले आइतबार इरानका सैन्य संरचनामाथि व्यापक हवाई आक्रमण गरेको छ।
एआई सिर्जित नमूना तस्वीर
घटनापछि होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्व थप चर्किएको छ र मध्यपूर्वमा नयाँ क्षेत्रीय युद्धको जोखिम बढेको विश्लेषण गरिएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार प्रतिकारात्मक कारबाहीका क्रममा इरानको अर्धसैनिक बल इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स अन्तर्गतका तटीय निगरानी प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र, मिसाइल तथा ड्रोन भण्डारणस्थल, समुद्री सैन्य पूर्वाधार र रणनीतिक सैन्य केन्द्रहरूलाई लक्षित गरिएको थियो।
दक्षिणी इरानका सिरिक, बन्दर अब्बास, हाजीआबाद र केश्म द्वीप आसपासका सैन्य संरचनामा आक्रमण गरिएको अमेरिकी पक्षले जनाएको छ।
अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा लडाकु विमान र समुद्रबाट प्रहार गरिएका टोमाहक क्रुज मिसाइल प्रयोग गरिएको देखिएको छ। पहाडी सुरुङभित्र रहेका मिसाइल भण्डारण केन्द्र र कमाण्ड संरचनासमेत निशानामा परेको जनाइएको छ।
अमेरिकी अधिकारीहरूले यो कारबाहीको उद्देश्य इरानको समुद्री सुरक्षा चुनौती तथा होर्मुज जलसन्धिमा जहाजलाई लक्षित गर्ने क्षमतामा कमी ल्याउनु रहेको बताएका छन्।
यता इरानले अमेरिकी आक्रमणपछि कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै थप मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
कुवेतका विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रमा क्षति पुगेको र केही क्षेत्रमा विद्युत् तथा पानी आपूर्तिमा अवरोध आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। संयुक्त अरब इमिरेट्स, बहराइन, जोर्डन र साउदी अरेबियाले सुरक्षा सतर्कता उच्च बनाएका छन्।
युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी भंग भएपछि पुनः सुरु भएको यो सैन्य भिडन्त दोस्रो सातामा प्रवेश गरेको छ। इरानले अमेरिकी आक्रमण जारी रहे आफ्नो प्रतिकारात्मक कारबाही अझ व्यापक बनाउने चेतावनी दिएको छ भने अमेरिकाले आफ्ना सैनिक र साझेदार राष्ट्रमाथिको कुनै पनि आक्रमणको कडा जवाफ दिने स्पष्ट पारेको छ।
इरानी अधिकारीहरूका अनुसार पछिल्ला अमेरिकी हवाई आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। यता अमेरिकी पक्षले जोर्डनस्थित सैन्य अड्डामाथिको आक्रमणमा दुई सैनिकको मृत्यु, एक जना बेपत्ता र चार जना घाइते भएको पुष्टि गरेको छ।
विश्वव्यापी कच्चा तेल र प्राकृतिक ग्यासको करिब २० प्रतिशत आपूर्ति हुने होर्मुज जलसन्धि युद्धको केन्द्र बन्दै गएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री व्यापार तथा विश्व अर्थतन्त्रमा समेत यसको प्रत्यक्ष प्रभाव पर्ने चिन्ता बढ्दै गएको छ।




प्रतिक्रिया राख्नुहोस्