जन सरोकार

बाढी र पहिरोले बाजुराका चार गाउँ विस्थापित

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका–१ र २ वडाका बस्ती पहिराका कारण विस्थापित भएका छन् । सोही नगरपालिका–१ मा पर्ने कुँडी र अम्कोट तथा २ वडामा पर्ने बजेडी, नडाङ, मुस्तोला, ताप्रीसेरालगायत बस्ती विस्थापित भएका छन् ।

आइतबार आएको अविरल वर्षात्ले नडाङ खेतकोटबाट बग्ने पानीमूल र ठाडो खोलाबाट मिसिएको घट्टेखोलाको बाढीले सोही दुई वडाका ताँप्रीसेरा, मुसी र खर्राका खेतीयोग्य जमीन बगरमा परिणत भएको २ का वडाध्यक्ष हिरालाल थापाले बताउनुभयो ।

लगातारको वर्षाका कारण अधिकांश बस्ती पहिरो र बाढीको उच्च जोखिममा छन् । अविरल वर्षाका कारणले गर्दा गोरेटो बाटो हुँदै पक्की सडक र ग्रामीण सडक अवरुद्ध बनेका छन् । आइतबार राति आएको अविरल वर्षाका कारण बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि चर्किएकाले विस्थापित भई छिमेकीका घरमा सरेको स्थानीय अगुवा खड्कराज जोशीले बताउनुभयो । पहिराले पूरै गाउँ जोखिममा छ ।

लामो समयदेखि आएको पहिरो र बजेडीमा पानी परेपछि स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन् । पानी आएका बेला गाउँमा भेला भएर बालबालिकालाई काखमा च्याप्दै मानिस जाग्राम बस्ने गरेको स्थानीयवासी गमे ल्वारले बताउनुभयो ।

यसैगरी सोही वडा नडाङका १० परिवार घर चर्किएपछि शिवशङ्कर प्राथमिक विद्यालयमा बसेका छन् । घरमाथिबाट पहिरो आएपछि स्थानीयवासी त्रसित बनेका छन् । अविरल वर्षाका कारण बाढी र पहिराले वितण्डा मच्चाएको छ । खेतीयोग्य जमीन बगाएर लगेको छ भने लगाइएको खेती पहिराले पुरिएको अवस्था छ । ताँप्रीसेरा बजारभित्रै बाढी पसेर लाखौँको क्षति भएको छ । घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका व्यापारी गोपाल थापाको पसल बगाएर लाखौँको क्षति भएको छ । बाढी पसलभित्र छिरेपछि आफू भागेर बचेको र पसल पूरै बगाएको स्थानीयवासी व्याापारी गोपाल थापाले बताउनुभयो ।

वर्षासँगै आएको बाढीले साँफे–मार्तडी सडकखण्डको घट्टेखोलामा निर्माण भएको पक्की पुल बगाएको छ । खोलाले बगाएर ल्याएका ढुङ्गामुढा पुलमा अड्किएपछि बाढी ताँप्रीसेरा बजार पसेको स्थानीयवासी आशा थापाले बताउनुभयो । महिनादिनको धानखेती बगरमा परिणत भएको स्थानीय रमेश थापाले बताउनुभयो । पक्की पुल बगाउँदा यातायात ठप्प भएको छ ।

गए राति आएको बाढीले बूढीगङ्गा नगरपालिकामा ठूलो क्षति भएको खबर आएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।

खहरे खोलाले बगायो पुल

बाजुरा खण्डको साँफे –मार्तडी सडकअन्तर्गत जिल्लाको बूढीगङ्गा–२ ताँप्रीसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ । गए राति परेको अविरल वर्षासँगै घट्टेखोलामा आएको बाढीका कारण उक्त पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साँफे–मार्तडी सडकअन्तर्गत धेरै ठाउँमा पहिरो आएर आजदेखि यातायात पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख भट्टराईको भनाइ छ । पुलसँगै अमकोटमा पहिरो आएर दुई हप्तादेखि सडक अवरूद्ध भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.