राजनीति

१० वर्षमा पनि पूरा भएन तुइनमुक्त बनाउने प्रधानमन्त्रीको घोषणा

विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने घोषणा गर्नुभयो । तर, १० वर्ष बितिसक्दा पनि सो घोषणा पूरा नहुँदा दार्चुलाका नागरिकले हरेक वर्ष तुइनबाट खसेर ज्यान गुमाउनु परेको छ ।

हुन त प्रधानमन्त्रीले घोषणा गरेपछि जिल्लाको व्याँस गाउँपालिकाको पाँच स्थानमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएका छन् ।

व्याँस गाउँपालिका–२ स्थित मालघाट, वडा नं ४ को मलघट्टे, वडा नं ५ को तिगरम, वडा नं ६ को बडूगाउँमा पनि झोलुङ्गे पुल छन् । व्याँस वडा नं १ को सीतापुलमा काठेपुल निर्माण भएको छ ।

यस्तै, लेकमको लाली, मालिकार्जुनको जोलजीविमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं २ दुम्लिङमा झोलुङ्गे पुल निर्माणका लागि भारतले अनुमति नदिँदा पुल बन्न बाँकी रह्यो । दुम्लिङबाट हाल निर्माण भएको वडा नं २ कै मालघाट पुल पुग्न दुई घण्टा बढी समय लाग्छ ।

व्याँस गाउँपालिका–२ दुम्लिङका मात्रै २०७९ मा १८ वर्षीय सचिन बुढाथोकी र २०८० वैशाख ९ गते ४५ वर्षीय सिङ्दलसिंह भण्डारी महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर बेपत्ता भए । वडा नं २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार तुइनबाट खसेर वडा नं २ को मात्रै २६ जनाको मृत्यु भइसकेको छ ।

व्यास–२ दुम्लिङमा अहिले पनि कम्तीमा तीन स्थानमा अस्थायी तुइन प्रयोग गरिन्छ । स्थानीय प्रभात बुढाथोकी भन्नुहुन्छ “हामीले झोलुङ्गे पुल बनाइदिन सरकारलाई कैयौँ पटक आग्रह ग¥यौँ, तर सरकारले वास्ता गरेन । हरेक मन्त्री प्रधानमन्त्री, सासंदलाई ज्ञापन बुझाएका छौँ ।”

अर्का स्थानीय महेन्द्रसिंह बुढाथोकी भन्नुहुन्छ, “दुम्लिङ, कल्जु क्षेत्रमा कम्तीमा एक सय घरधुरीको बसोबास छ । तर यहाँका बासिन्दाका लागि मात्रै तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनेन ।” दुम्लीङबाट नजिकै रहेको झोलुङ्गे पुल पुग्न दुई घण्टा हिँड्नुपर्छ ।

वडा नं २ मालघाटमा २०७८ साउन १५ गते जयसिंह धामीको तुइनबाट खसेर मृत्यु भएपछि झोलुङ्गे पुल बनेको थियो । त्यो पुलबाट राप्ला र मालका स्थानीय आवतजावत गर्ने गर्छन् ।

दुम्लिङसम्म भर्खर मात्रै नेपाली सेनाले दार्चुला टिङ्कर सडक निर्माण गरिरहेको छ । सडकमा गाडी नगुडेको र झोलुङ्गे पुल पुग्न समय लाग्ने भएपछि यहाँका नागरिकले अवैध तर सजिलो विकल्पका रुपमा तुइनको प्रयोग गर्ने गर्छन् ।

वडाध्यक्ष धिरनसिंह बुढाथोकी थप्नुहुन्छ, “प्रत्येक वर्ष दुम्लिङ क्षेत्रबाट कोही न कोही महाकालीमा हराउँछन्, तर राज्यको आँखामा यो ठाउँ देखिँदैन ।” मागपत्र दिएकै दशकौँ भयो ।

विसं २०७८ अघिसम्म भारतले अस्थायी रुपमा काठेपुल लगाउन दुम्लिङमा अनुमति दिएको थियो । तर कोरोनापछि भारतले अस्थायी काठेपुल भत्काइदिएपछि यो क्षेत्रका बासिन्दा लुकीछिपी तुइन लगाउने गर्छन् ।

अहिले पनि तुइन लगाएको देख्नेबित्तिकै भारतीय एसएसबीले काटिदिन्छ । फेरि त्यही ठाउँमा स्थानीयले आफ्नो सजिलोका लागि तुइन प्रयोग गर्छन् ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेल वैधानिक रुपमा तुइन नभए पनि स्थानीयले सजिलोका लागि तुइन प्रयोग गर्ने गरेको पाइएको बताउनुहुन्छ । “हामीले तुइन हटाउने प्रयास गरिरहेका छाैँ, तर वैकल्पिक संरचना नहुँदा स्थानीय बाध्य हुँदा रहेछन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.