राजनीति

पुष्पलाल स्मृति दिवस देशभर मनाउन एकीकृत समाजवादीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ ।

पार्टीले विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई समेत स्मृति दिवस मनाउन आग्रह गरेको हो । पार्टी निकट पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलिसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनमा नेपाली कम्युनिष्ट आन्दोलनको अवस्था, कार्यदिशा र चुनौतीबारे प्रस्तुति गर्नुहुनेछ ।

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गरिने पार्टीले जनाएको छ ।

दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान तथा अन्तरक्रिया गरिने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

विसं २००६ मा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दा पुष्पलालले समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राख्नुभएको थियो ।

विसं १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मनुभएका पुष्पलाल वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रूपमा परिचित हुनुहुन्छ । उहाँको निधन २०३५ सालमा भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.