साहुको आदेशमा युवतीमाथि एसिड प्रहार : रातारात भारत भगाउने प्रयास असफल
बिहिबार राति सीतापाइलामा एसिड प्रहार गर्ने युवाले आफ्ना साहुको निर्देशनमा युवतीमाथि एसिड प्रहार गरेको बयान दिएका छन् । युवतीमाथि एसिड प्रहार गरेको घटना लगत्तै उनको खोजीमा लागेको प्रहरीले पक्राउ परेका भारतीय नागरिक मुन्ना मोहम्मदले आफ्ना साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमको निर्देशनमा एसिड हानेको र राति नै साहुले भारततिर जान भनेको बयान दिएका छन् ।
एसिड प्रहारलगत्तै महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना बिहीबार राति ११ बजे पक्राउ परेका छन् । घटनास्थल नजिकै रहेको सीसी क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो ।
साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आक्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको आरोप उनको छ । तर, पीडित युवतीले भने उनी आफ्नो अभिभावक जस्तो भएको बयान दिएकी छन् ।
पक्राउ परेपछि मुन्नाले प्रहरीसँग साहुको निर्देशन बमोजिम एसिड हानेको र सो पदार्थ एसिड भएको आफूलाई थाहा नभएको बताएका छन् ।साहुजीले यसरी फ्याकेर आइज भनेको थियो । मलाई लाग्यो, यो रक्सी हो । म पढे लेखेको थिइन, त्यसैले थाहा हुने कुरै भएन । जब हातमा परेर पोल्यो, त्यसपछि यो के चिज हो भन्ने भयो ।
उत्रेर आएपछि साहुजीले भनेपछि नजिकबाट फ्याकेको थिएँ । त्यसपछि साहुले मलाई मोटरसाइकलमा चढाएर कारखानासम्म लगे । मलाई त्यसवापत एक रुपैयाँ पनि दिएका छैनन् ।
अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार उनीहरुले ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड युवतीलाई छ्यापेको खुलेको छ ।
प्रतिक्रिया राख्नुहोस्