प्रबास

हावडा सहर भानुभक्तको नामबाट नामकरण गरिने

भारतको पश्चिम बंगालस्थित कोलकातामा बसोबास गर्ने नेपाली समुदायले कोलकाताको नजिकै रहेका हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई आदिकवि भानुभक्तको नामबाट नामकरण गर्ने घोषणा गरेका छन् ।

नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा आइतबार आयोजित आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती कार्यक्रममा सहभागी वक्ताले संस्कृत भाषालाई नेपाली भाषामा आदिकविले अनुवाद गरी नेपाली भाषाको विकास गर्न योगदान पुर्याएको चर्चा गर्नुभयो ।

पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले कोलकाताको नजिकै रहेका हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई आदिकवि भानुभक्तको नामबाट नामकरण गर्ने घोषणा गर्दै आदिकविको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष बद्रीविक्रम थापाले विगत २५ वर्षदेखि आदिकविको स्मरणमा जन्मजयन्ती गर्दै आएको बताउँदै उहाँको सम्झनामा बिहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गरिएको जानकारी दिनुभयो ।

संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको उपसभापति नरविक्रम थापाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्न आफू क्रियाशील रहेको बताउनुभयो ।

आयोजक संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार धर्मराज बरालले विश्वभरका नेपालीलाई एकताबद्ध गरी जोड्ने काम आदिकविले गरेको चर्चा गर्दै उहाँको योगदानलाई अन्तर्राष्ट्रिय तहमा प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मन्त्री रायले बिहानी पत्रिका विमोचन गर्नुभएको थियो भने सोही कार्यक्रममा विद्यार्थी आशा उपाध्याय बरालले आदिकविको सम्झनामा कवितावाचन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.