सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार मध्यराति दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थिति तनावग्रस्त बनेको छ। झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी सुरक्षाकर्मी र प्रदर्शनकारी घाइते भएका छन्।
घटनापछि सुरक्षा अवस्था जटिल बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको छ।
प्राप्त जानकारीअनुसार आइतबार राति दुई समूहबीच सुरु भएको विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
झडपका क्रममा सुरक्षाकर्मीमाथि ढुंगामुढा, आक्रमण तथा तोडफोड भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ। त्यसक्रममा गोलीसमेत चलेको थियो।
घटनामा देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज निवासी २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। प्रारम्भिक रूपमा प्रहरीको गोली लागेर उहाँको मृत्यु भएको भनिए पनि त्यसको आधिकारिक पुष्टि भइसकेको छैन।
सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र पोस्टमार्टम तथा फरेन्सिक प्रतिवेदनपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।
घटनामा कम्तीमा आठजना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
यसैबीच, झडपका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २४ जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार तथा आक्रमण हुँदा उनीहरू घाइते भएको सुरक्षा स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेन्द्र थापाले घटनाका क्रममा दुवै सुरक्षा निकायबाट गोली चलेको पुष्टि गर्दै घटनाको निष्पक्ष अनुसन्धान भइरहेको बताउनुभयो। उहाँका अनुसार सशस्त्र प्रहरीकै गोली लागेर मृत्यु भएको भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
“घटनाका क्रममा दुवै सुरक्षा निकायबाट गोली चलेको थियो। एक जनाको मृत्यु भएको छ तर कुन कारणले र कसको गोली लागेर मृत्यु भयो भन्ने विषय अनुसन्धानको निष्कर्ष आएपछि मात्र स्पष्ट हुन्छ,” डीआईजी थापाले भन्नुभयो।
पाँच बजार क्षेत्रमा निषेधाज्ञा
घटनापछि थप तनाव फैलिन सक्ने जोखिम देखिएकाले जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्रभावित क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा, हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र, देवानगञ्ज बजार क्षेत्र रहेका छन्। प्रशासनले आदेशमा ती क्षेत्रहरूको पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमा समेत स्पष्ट रूपमा तोकेको जनाएको छ।
प्रशासन कार्यालयले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनले घटनाको वास्तविक कारण, झडप कसरी सुरु भयो, गोली कसले चलायो र मृत्युको कारण के हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको र हाल अवस्था निगरानीमा रहेको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न, साम्प्रदायिक तथा सामाजिक सद्भावमा असर पर्न नदिन र थप अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको स्पष्ट पारेको छ। प्रशासनले स्थानीय बासिन्दालाई अफवाहमा विश्वास नगर्न तथा संयमित रहन आग्रह गरेको छ।




प्रतिक्रिया राख्नुहोस्