राजनीति

नेकपा नियती- “ओली हटाऊ– प्रचण्ड बसाऊ”- “प्रचण्ड हटाऊ– ओली बसाऊ”

यादब देवकोटा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला फुटको संघारमा पुगेको छ । यो फुटको कारण सैद्धान्तिक र नीतिगत नभएर नेताहरुको व्यक्तिगत टकवार हो भन्ने आम मतदाताको मान्यता छ भने पार्टीमा जन्मेको गुटको आरोप आआफ्नै पक्षलाई बल पुग्ने खालको छ । यति मात्र हैन तत्कालीन एमाले र माओवादीले जनतालाई झुक्याउनकै लागि एकताको नाटक मञ्चन गरेका रहेछन् भन्ने पुष्टि हुँदै गएको देखिन्छ ।

अहिले नेकपाभित्र पूर्व एमालेको नेपाल गुट र पूर्व माओवादीबाट प्रचण्ड मिसिएर ओली हटाउने गुट तयार भएको छ । अर्कोतिर ओली गुट ओलीलाई बचाउन लागिपर्ने, एमालेको माधव गुट अहिले पूर्व माओवादीका अध्यक्ष प्रचण्डसंग मिलेर पार्टीमा दुई गुट चलाइरहेका छन् । यही गुटको बलमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन कम्मर कसेर लागिपरेका छन् । यही हो राजनीतिक दर्शन र भूमिका अनि माक्र्सवादी सिद्धान्त ? हिम्मत हुनेले लौ गरी खा भनी पद छोडछ भने स्वार्थमा नलाग्नेले काम गर्नेलाई सघाइरहन्छ । मुलुकको हितमा काम गर्नेहरुका लागि पद र सत्ता नै सबथोक हैन, तर यहाँ व्यक्तिगत प्रतिष्ठा र अहंकारका लागि पद चाहिएको छ– “देश र जनता भाडमा जाओस् !”

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्नो पद जोगाउन लागिपर्ने प्रचण्ड–नेपाल गुट ओलीलाई नफाली नछोड्ने भन्दै लागिपर्ने अनि यो कामलाई ओली गुट र प्रचण्ड–नेपाल गुटले एकले अर्कोलाई तुच्छ आलोचना गर्दै सामाजिक सञ्जाल रंगाइरहने क्रम जारी छ । यो प्रतिस्पर्धा यति अस्वस्थ छ कि निकै निम्नस्तरको गालीगलौजमा उत्रिएका छन् । यस्तो लाग्छ यो पार्टी कसरी एकता भयो ?

एमाले हुँदा ओली–नेपालका जहिल्यै टक्कर । झलनाथ खनाल र बामदेव गौतम कहिले कता कहिले कता गर्दै समय कटाए । अहिले एमालेको ओली–नेपाल गुटमा माओवादीको प्रचण्ड थपिएका छन् नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादीको प्रचण्ड प्रतिस्पर्धा छ । हुन पनि पार्टी एकता हुँदा नै भाण्डवडा तय गरिएको थियो । सरकारदेखि पार्टी र भातृ संगठनसम्म ६०–४० को भागवण्डाले हरेक सानासाना नियुक्तिमा समेत पूर्व एमाले र पूर्व माओवादी उपस्थित हुन्छन् । जसले गर्दा कुनै पनि काम ठीकसंग हुन सकेको छैन । काम गर्न चाहनेले पनि काम गर्न सकेको छैन । राजनीतिक दल, तिनका नेता र ती नेतालाई उचाल्न–पछार्न चाहने अर्को दर्जाका नेता अनि कार्यकर्ताहरुले किन सिंगो पार्टीको नेता वा कार्याकर्ता बन्ने प्रयास नगरेको होला ?

यो समस्या नेकपामा मात्र हेन नेपाली कांग्रेसमा पनि छ । कांग्रेसको देउवा गुट, पौडेल गुट अनि कोइराला खानदानी गुटले सो पार्टी कसरी अस्तित्वको संघर्षमा रहेको छ भन्ने देख्दादेख्दै अनि त्यही गुटबन्दीले पनि तत्कालीन एमाले र माओवादीको गबठन्धनलाई प्रचण्ड बहुमत पाउन सहयोग गरेको थियो भन्ने किन भुलेको छ । पार्टी विभाजन भए त्यसको हैसियत कस्तो हुन्छ भन्ने २०५६ सालको आम निर्वाचनमा बामदेवहरुले भोगेकै हो अनि त्यसको असर त्योबेलाको एमालेले पनि भोगेकै हो ! यति ठूलो पाठ सिकेर बनेको नेकपा पुनः एमाले र माओवादीमै विभक्त हुन्छ भने यो व्यवस्थाकै लागि घातक हो । देशका लागि सोच्न नसक्ने नेता–तिनका सहयोगी र कार्यकर्ताको केही काम छैन, उनीहरु केवल भरौटे मात्र हुन् । कमसेकम अहिलेलाई ओली–प्रचण्डबीच मिलाप गराएर पार्टी र सरकार एकढिक्का भएर देश विकासमा अघि बढ्ने वातावरण सिर्जना गर्नुको साटो नेताहरुको व्यक्तिगत स्वार्थलाई मूल मन्त्र मानेर हिंड्नेहरुबाट भविष्यमा के आश गर्ने ?

बुझ्नुपर्ने के हो भने– अहिले ओली हटाउन लागिपर्नेहरुले भोलि सो पदमा पुग्नेले पनि त्यस्तै परिस्थितिको सामना गर्नुपर्छ । यो प्रवृत्तिलाई सदाका लागि अन्त्य गर्न कम्तिमा युवा पुस्ताहरु चाहे पूर्व एमाले हुन् वा पूर्व माओवादी सबैले विगत भुलेर वर्तमानमा (नेकपा) हौं भनेर अघि बढ्न सके देशकै भलो हुने थियो । अहिले पूर्व एमाले र पूर्व माओवादी भनेर आआफ्ना पूर्व नेताहरुलाई काखी च्याप्न खोज्ने नेता, कार्यकर्ताहरुको ओइरो लागेको छ र यसले पार्टीको भविष्यसंगै देशको भविष्य अनि आम जनताको अभिलाषा सबै खरानी बनाउँदै गएको छ ।

पार्टीमा भिन्न मत, भिन्न धारणा स्वाभाविक मानिए पनि पार्टी जीवनलाई नै तहसनहस पार्ने गरी गुटबन्दी चलाएर नेतृत्व हत्याउने, सरकारमा जाने, सरकार ढाल्ने खेल व्यक्तिका लागि सामान्य होला तर आम जनताका लागि यो सामान्य विषय हैन । सरकारले जनअपेक्षित काम गर्न सकेन ! यसको भागिदार सरकार चलाउने पार्टी कति हुने ? सरकारले गरेको राम्रो कामको जस पार्टीले लिन खोज्ने हो भने सरकारले गरेको नराम्रो कामको भागिदार पनि पार्टी नै हुन्छ । तर यहाँ त्यस्तो छैन । नराम्रो जति ओलीले गरेको, राम्रो जति पार्टीले गरेको ।

प्रधानमन्त्रीका रुपमा ओलीले पार्टी घोषणापत्र, सरकारको योजना र नारा अनुसार काम गर्न सकेनन् त्यसैले प्रधानमन्त्रीबाट हटाउनुपर्छ ! त्यसो भए राम्रो काम गर्ने चाहिं को त ? नेकपामा प्रधानमन्त्री बन्ने चर्चामा रहेका सबैको नेतृत्व जनताले भोगिसकेका छन् । यी कोही आए पनि ओलीभन्दा फरक हुनेवाला छैनन्, सबै परीक्षण भैसकेका छन् । राम्रो काम नै गर्ने हो, ओलीलाई विस्थापित नै गर्ने हो भने तेस्रो पुस्ताबाट प्रधानमन्त्री चयन गरेर देश र जनताको पक्षमा अहिलेको शक्तिसंघर्ष हो भने भन्ने देखाउन सक्नुपर्छ र भन्नुपर्छ– “हामी प्रधानमन्त्री बन्दैनौ ।” त्यसो गर्ने हिम्मत छ– प्रचण्ड–नेपाल–खनाल !

नेकपा फुटेर सरकार बनाउने र ढाल्ने खेल सुरु भयो भने सायद गणतन्त्रको भविष्य पनि समाप्त हुन्छ भन्ने कोही पनि नेताले बुझेका छैनन् । नेताले त बुझेनन् बुझेनन्, किनभने उनीहरुले गरेको संघर्ष नै स्वार्थपूर्तिका लागि थियो, विलासी जीवन बिताउन थियो भन्ने पुष्टि भैसकेको छ । तर पार्टीको सिद्धान्त, विचार र नीतिलाई समातेर राजनीतिमा होमिएका युवा पंक्ति पनि गुटकै नेताको तावेदारी गर्न लागिपर्नु विडम्बना हो । यसले नेपालको बहुदलीय राजनीतिक व्यवस्था अफाप सिद्ध गर्ने बाहेक केही काम गर्दैन ।

केही दर्जन नेता मात्र पार्टी हैनन् भन्ने अहिलेको पुस्ताले बुझ्नुपर्दछ । पार्टी लाखौं युवाहरुको मेहेनतले मात्र बन्छ । तर पार्टीमा लागेका युवाहरु गुटबन्दीमा लागेर “ओली हटाऊ, प्रचण्ड बसाऊ, प्रचण्ड हटाऊ, ओली बसाऊ”को पछि लाग्ने हो भने यो पुस्ताले आफूले आफैंलाई धिक्कार्नुको विकल्प रहँदैन । गुटको पछि लागेर व्यक्तिगत फाइदा मात्र बटुल्ने चरित्रलाई नेकपाका आम युवा नेता–कार्यकर्ताले त्याग्न सके मात्र जनताले दिएको झण्डै दुई तिहाई बहुमतको कदर हुनेछ ।

प्रधानमन्त्री ओली भए पनि, भोलि प्रचण्ड भए पनि यदि पार्टी एक ढिक्का भएर व्यक्तिगत स्वाथर्गविना मुलुकको समृद्धिका लागि सही हस्तक्षेप गर्ने हो भने नेकपा नेतृत्वको वर्तमान सरकारले मुलुकलाई धेरै दिनसक्छ र यो मुलुकको बहुदलीय व्यवस्थाका लागि एउटा ‘मान्यता’ स्थापित हुनेछ । तर, विधिको विडम्बना नै भन्नुपर्छ यस्तो संस्कारको विकास हुन सकेको छैन । यति ठूलो पार्टीभित्र पूर्व एमाले र पूर्व माओवादी अनि एमालेमा ओली–नेपाल गुट बनेर अभिव्यक्तिहरु सार्वजनिक गरिरहेको देख्दा लाग्छ– नेपालका राजनीतिक दलमा लागेका युवाहरुमा राजनीतिक संस्कार, संस्कृति, सभ्यता र सैद्धान्तिक विचारधारा नै छैन । उनीहरु केवल व्यक्तिको घोडा बनेर दौडिरहेका छन् ।

सम्बन्धित खबर

Back to top button