पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक हिंसाजस्तो राष्ट्रिय महत्वको संवेदनशील विषयमा सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर साझा समाधान खोज्ने पहल नगरेको गुनासो गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा धारणा राख्दै प्रचण्डले सुनसरीको देवानगञ्जमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।
उहाँले यस्तो संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
प्रचण्डले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्ता जटिल राजनीतिक प्रक्रियामा दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै अहिले पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो।
सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै उहाँले सरकारले अझ जिम्मेवार, सक्रिय र संवेदनशील ढंगले परिस्थितिको सामना गर्नुपर्ने धारणा राख्नुभयो।
प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। संसद्मा सरकारको प्रस्तुतिसमेत अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उहाँको टिप्पणी थियो।
प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गर्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्र परिस्थितिलाई सहज बनाउन सकिने बताउनुभयो।
उहाँले आफ्नो पार्टीले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र स्थानीय तहमा संयमता तथा सामाजिक सद्भाव कायम राख्न पार्टी पङ्क्तिलाई आवश्यक निर्देशनसमेत दिइएको जानकारी दिनुभयो।
घटनास्थलमा स्थानीय व्यक्तिमात्र नभई बाह्य रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने आशंकाप्रति सचेत गराउँदै उहाँले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो।
“यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,” उहाँले भन्नुभयो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला पक्ष सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।




प्रतिक्रिया राख्नुहोस्