जन सरोकार

सुन प्रकरणमा मुछिएका दरबारमार्गका डिएसपी रञ्जन दाहाल जिम्मेवारीमुक्त

साउन १३ गते कमलादीमा बरामद भएको १५ किलो सुनको सम्बन्धमा घटनालाई अतिरञ्जित बनाएर घटनास्थलसमेत परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको पाइएछि महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ ।

सुन प्रकरणमा सुरुको सूचना र पछिको प्रतिवेदन गलत पाइएपछि यस विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक सुशील कुमार यादवको नेतृत्वमा गठन गरेको समितिले अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेसंगै डिएसपी दाहाल जिम्मेवारीमुक्त गरिएको हो ।

दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ ।

साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो । यद्यपि प्रहरीले कसैलाई पनि पक्राउ गर्न भने सकेको थिएन । तर सो घटना अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको जानकारी गराउनुभएको थियो ।

तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको क्लोज सर्किट ९सीसी० क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।

एसएसपी ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमै बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी फरार भएको सार्वजनिक गरे पनि बरामद धातु परीक्षणपछि साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

समितिका एक अधिकृतले अभियुक्त र सवारीसाधन नसमातिँदै पत्रकार सम्मेलन गरेर गाडी नम्बर सार्वजनिक गर्दा आरोपितले भाग्ने मौका पाएको, घटनालगत्तै दिइएको सवारीसाधनको नम्बर पनि गलत रहेको पाइएको थियो ।

थापाथलीस्थित ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको नम्बर बा ६ च ५५११ थियो । जबकी, त्यो नम्बरको गाडी कैलालीमा रहेको व्यक्तिको भएको पाइएको यातायात व्यवस्था कार्यालयको रेकर्डले देखाएको थियो । पछि ५५१९ नम्बरको गाडी बाराका इन्साद हुसेनको भएको पाइएको थियो र त्यसबाट थप अनुसन्धान सुरु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.