एन आर एन न्युज

दोहोरो कर प्रणाली हटाउने एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली हटाउने सम्बन्धी प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।

भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत दक्ष जनशक्तिको ज्ञान, सीप, अनुभव, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराउनुभयो।

उहाँले सम्मेलनले नेपालका प्राथमिकताप्राप्त विकास क्षेत्रहरूमा विश्वभरका नेपाली विज्ञहरूको ज्ञान र प्रविधि परिचालन गर्दै सरकार–निजी क्षेत्र–प्रवासी नेपालीबीच सहकार्यको नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।

जवाफमा अर्थमन्त्री डा. वाग्लेले विश्व ज्ञान सम्मेलन–२०२७ ले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र प्रविधिलाई नेपालको विकाससँग जोड्ने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै सम्मेलनको सफल आयोजनाका लागि सरकार आवश्यक सहकार्य गर्न पूर्ण रूपमा सकारात्मक रहेको बताउनुभयो।

भेटका क्रममा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन हुन नसक्दा तथा एकीकृत गैरआवासीय नेपाली ऐन समयमै नआउँदा गैरआवासीय नेपाली समुदायले विभिन्न कानुनी तथा व्यवहारिक समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो।

उहाँले यी समस्याका कारण एनआरएनएले अघि सारेका करिब १० अर्ब रुपैयाँ बराबरका विकास तथा लगानी परियोजना प्रभावित भएको जानकारी दिँदै ऐनलाई फास्ट ट्र्याकमार्फत शीघ्र टुंग्याउन आग्रह गर्नुभयो।

त्यसैगरी, एनआरएनए नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले फन्ड सञ्चालनका लागि धितोपत्र बोर्डअन्तर्गतको अन्तिम प्रक्रिया मात्रै बाँकी रहेको जानकारी दिँदै आवश्यक पहलप्रति धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्रीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया शीघ्र टुंग्याइने विश्वास दिलाउनुभयो।

भेटमा एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले दोहोरो कर हटाउने सम्बन्धी व्यवस्थाले विदेशमा रहेका नेपाली लगानीकर्ता तथा व्यवसायीलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन मिल्ने र वैदेशिक लगानी आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।

अर्थमन्त्री डा. वाग्लेले सरकारले दोहोरो कर प्रणाली हटाउने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिँदै यसले लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य विस्तार तथा विदेशमा रहेका नेपाली व्यवसायी र लगानीकर्ताका लागि थप सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

भेटमा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, फोकल पर्सन सरोज दाहाल तथा वरिष्ठ सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.