एन आर एन न्युज

एनआरएनए १७औँ युरोप क्षेत्रीय सम्मेलन : नागरिकता, लगानी र डायस्पोरा सशक्तीकरणमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा अगस्ट १० र ११ मा “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” भन्ने मूल नाराका साथ सम्पन्न भएको छ।

सम्मेलनको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीको प्रमुख आतिथ्यमा भएको थियो। नेपाल सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल तथा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुबेदी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका अधिकारीहरुको सहभागिता रहेको थियो।

यसै गरी निजी क्षेत्र, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारी, उद्यमी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा विभिन्न देशका नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार ३५ भन्दा बढी देशबाट २५० भन्दा बढी प्रतिनिधि प्रत्यक्ष रूपमा सहभागी भएका थिए भने भर्चुअल माध्यमबाट समेत गरी ४०० भन्दा बढीको सहभागिता रहेको थियो।

सम्मेलनका विभिन्न विषयगत सत्रहरूमा गैरआवासीय नेपालीको नागरिकता, लगानी प्रवर्द्धन, आर्थिक तथा श्रम कूटनीति, महिला तथा युवा सहभागिता, दोस्रो पुस्ताको भूमिका, ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा एनआरएनएको संस्थागत सुदृढीकरणका विषयमा विस्तृत छलफल भएको थियो। ती छलफलबाट प्राप्त निष्कर्ष र सुझावलाई समेट्दै ‘डब्लिन घोषणापत्र–२०२६’ जारी गरिएको छ।

घोषणापत्रका प्रमुख बुँदा

घोषणापत्रमार्फत सम्मेलनले नेपाल सरकारसँग गैरआवासीय नेपाली नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन गर्न गैरआवासीय नेपालीसम्बन्धी विधेयक–२०८३ यथाशीघ्र पारित गर्न आग्रह गरेको छ। साथै “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने अवधारणाअनुसार वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न आवश्यक संवैधानिक व्यवस्था गर्न माग गरिएको छ।

सम्मेलनले युरोपमा रहेका नेपालीको पूँजी, सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्दै लगानीमैत्री वातावरण निर्माण गर्न कानुनी तथा प्रशासनिक अवरोध हटाउन सरकारलाई अनुरोध गरेको छ।

एनआरएनए डेभलपमेन्ट फण्डलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल धितोपत्र बोर्ड र नेपाल सरकारले देखाएको पहलप्रति सम्मेलनले आभार व्यक्त गर्दै साना तथा मझौला लगानीकर्तालाई समेत उक्त फण्डमा सहभागी हुन आह्वान गरेको छ।

पर्यटन, श्रमिक अधिकार र महिला नेतृत्वमा जोड

सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न, विदेशमा ‘नेपाल हाउस’ अवधारणालाई विस्तार गर्न तथा नेपाली उत्पादन, संस्कृति, कला र पर्यटनको अन्तर्राष्ट्रिय बजारीकरणमा डायस्पोराको सञ्जाल परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।

यस्तै, युरोपसहित विश्वभर रहेका नेपाली श्रमिकको सुरक्षित, मर्यादित र वैधानिक रोजगारी सुनिश्चित गर्न श्रम कूटनीति सुदृढ बनाउन तथा मानव तस्करी नियन्त्रणका लागि नेपाल सरकार, कूटनीतिक नियोग र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

महिला नेतृत्व, उद्यमशीलता, सुरक्षित आप्रवासन, आर्थिक आत्मनिर्भरता तथा नेतृत्व विकासलाई एनआरएनएको प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि सम्मेलनले व्यक्त गरेको छ।

युवा, दोस्रो पुस्ता र प्रविधिमा प्राथमिकता

घोषणापत्रमा युवा तथा दोस्रो पुस्तालाई एनआरएनएको नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउने, उनीहरूलाई नेपाली भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक तथा उद्यमीको ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्न ‘नेपाली नलेज एन्ड स्किल्स नेटवर्क’ सुदृढ बनाउने तथा कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल प्रविधि, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा नेपाल–डायस्पोरा सहकार्य विस्तार गर्ने निर्णय गरिएको छ।

संस्थागत सुधार र एकतामा जोड

सम्मेलनले सन् २०३० सम्मको एनआरएनए रोडम्याप कार्यान्वयन, संस्थाको रिब्रान्डिङ तथा सम्पूर्ण पञ्जीकृत सदस्यले अनलाइन मतदानमार्फत आईसीसी नेतृत्व चयन गर्ने व्यवस्थाका लागि आवश्यक पूर्वाधार समयमै तयार गर्न आग्रह गरेको छ।

साथै संस्थाभित्रको एकता कायम राख्दै साझा उद्देश्यका लागि सबै सदस्य, अभियन्ता र नेतृत्वलाई आपसी सहकार्यका साथ अघि बढ्न आह्वान गरिएको छ।

गोर्खा मुद्दा र श्रद्धाञ्जली

सम्मेलनले ब्रिटिस गोर्खाहरूले लामो समयदेखि उठाउँदै आएको असमान पेन्सन तथा विभेद अन्त्यको माग र गोर्खा वंशजको नेपाली नागरिकताको निरन्तरतासम्बन्धी विषय यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।

यसैगरी, विश्वप्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उँचो बनाउन पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गरिएको छ।

आगामी सम्मेलन

एनआरएनएको १८औँ युरोप क्षेत्रीय सम्मेलन आयोजना गर्न बेलायत र पोल्याण्डस्थित राष्ट्रिय समन्वय परिषद्ले इच्छा व्यक्त गरेका छन्। आईसीसीको आवश्यक निर्णयपछि ती दुईमध्ये एक देशमा आगामी सम्मेलन आयोजना गरिने जनाइएको छ।

सम्मेलनको अन्त्यमा आयोजक राष्ट्रिय समन्वय परिषद् आयरल्याण्ड, आयोजक समिति, स्वयंसेवक, प्रायोजक, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.