अमेरिकी भिसा लिन अब नेपालीले ३० लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने
अमेरिकाले भिसा बन्ड (धरौटी) कार्यक्रमलाई स्थायी बनाएको छ। अब नेपाल सहित ५० देशका नागरिकले अमेरिकी बी–१ (व्यवसाय) र बी–२ (पर्यटन) भिसाका लागि आवेदन दिँदा अधिकतम २० हजार अमेरिकी डलर (नेपाली ३० लाख भन्दा बढी)सम्म धरौटी राख्नुपर्ने हुन सक्नेछ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको अन्तिम नियमअनुसार कन्सुलर अधिकारीले आवश्यक ठानेमा भिसा जारी गर्ने सर्तस्वरूप २० हजार डलरसम्म धरौटी माग्न सक्नेछन्। यसअघि पाइलट कार्यक्रमअन्तर्गत अधिकतम १५ हजार डलरसम्म धरौटी लिने व्यवस्था थियो।
अमेरिकी प्रशासनका अनुसार यो व्यवस्था भिसाको अवधि सकिएपछि पनि अमेरिकामै बसिरहने (ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्न ल्याइएको हो। पाइलट कार्यक्रमबाट प्राप्त अनुभवले भिसा धारकलाई नियम पालना गराउन धरौटी प्रणाली प्रभावकारी देखिएको विदेश मन्त्रालयले जनाएको छ।
नयाँ नियम अगस्ट ३ देखि लागू हुनेछ। यो कार्यक्रम लागू हुने ५० देशमध्ये ३० वटा अफ्रिकी राष्ट्र रहेका छन्। यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ । भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यद्यपि, आप्रवासन अधिकारकर्मीहरूले यस्तो व्यवस्थाले वैधानिक रूपमा अमेरिका यात्रा गर्न चाहने नागरिकसमेत प्रभावित हुने र कानुनी आप्रवासन थप कठिन बन्ने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने राष्ट्रिय सुरक्षा सुदृढ गर्न र अवैध आप्रवासन नियन्त्रण गर्न यस्तो कदम आवश्यक रहेको जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्