विदेशमन्त्रीको अभिव्यक्ति सच्याउँदै भारतले भन्यो 'बुद्ध नेपालमा जन्मेकोमा शंका छैन'
भारतीय विदेशमन्त्री एस. जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा बुद्ध भारतमा जन्मिएको दाबी गर्दै गौतम बुद्ध भारतीय भएको अभव्यक्तिलाई भारतीय विदेश मन्त्रालयले सच्याएको छ ।

आइतबार भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याउँदै जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको र गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन भन्नेमा कुनै शंका नरहेको बताएको छ ।
विदेशमन्त्री जयशंकरले भनेका थिए ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो । हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’
विदेशमन्त्रीको सो भनाइपछि प्रतिउत्तरमा नेपालको परराष्ट्र मन्त्रालयले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय नभएको बताएको थियो ।
भारतीय विदेशमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भन्नुभयो, “नेपालको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको वास्तविकता ऐतिहासिक एवं पुरातात्विक प्रमाणले पूर्णरुपमा प्रमाणित भएको यथार्थ हो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्धधर्मको उद्गमस्थल हो जुन संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को) विश्वसम्पदास्थल हो ।”
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । त्यसको नेपालमा तीव्र विरोध भएको थियो । नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताएका थिए । तर दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।
प्रतिक्रिया राख्नुहोस्