अर्थ

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कैलालीको नेतृत्वमा आज धनगढीमा गरिएको बजार अनुगमनका क्रममा ग्यास थोकविक्रेतामा नियमित आपूर्ति भइरहे पनि माग अत्यधिक बढिरहेको पाइएपछि अतिरिक्त भण्डारण नगर्न आग्रह गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले नेपाल आयल निगम, ग्यास डिलरलगायतले मागभन्दा बढी आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास अभावको हल्लाका कारण अतिरिक्त भण्डारण गर्दा केही समस्या देखिएको बताउनुभयो ।

“अनुगमनका क्रममा जिल्लाका केही डिलरमा ग्याँसको माग अत्यधिक देखियो । केही डिलरमा भने पर्याप्त मौज्दात रहेको पाइयो । विगतको तुलनामा ग्यासको आपूर्ति बढेको भए पनि बजारमा अभाव देखिनुले उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गरेको हुनसक्ने हाम्रो बुझाई हो”, उहाँले भन्नुभयो,“हल्लाको पछाडि लागेर अतिरिक्त सिलिण्डर थुपार्न आवश्यक छैन । बजारमा पर्याप्त ग्यास आपूर्ति भइरहेको छ ।”

नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मनोहर डिसीले विगतको तुलनामा यस वर्ष मागभन्दा बढी नै ग्यास आपूर्ति भएको बताउनुभयो । सुदूरपश्चिममा मासिक करिब एक लाख सिलिण्डर ग्याँस बिक्री हुने गरेकामा यस वर्ष साउनको हालसम्म एक लाख २० हजार सिलिण्डर बिक्री भइसकेको र थप ५० हजार सिलिण्डर ग्यास आउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

“सुदूरपश्चिममा आपूर्तिको समस्या छैन । हामीले विगत वर्षभन्दा हाल बढी नै ग्यास आपूर्ति गरिरहेका छौँ । त्यसैले उपभोक्ताले हल्लाको पछि लागेर सिलिण्डर थुपार्दा समस्या भएको हो कि भन्ने छ । त्यसको पनि अध्ययन गर्दैछौँ”, कार्यालय प्रमुख डिसीले भन्नुभयो,“सुदूरपश्चिम क्षेत्रमा बिक्रीवितरण हुने सैपाल र रेडियन्ट ग्यासमा कुनै समस्या छैन । लुम्बिनी प्रदेशबाट आउने ग्यासमा हल्लाकै पछि लाग्दा दबाब बढेको छ । त्यो समस्या पनि अबको केही दिनमा समाधान हुन्छ ।”

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, कैलालीका सूचना अधिकारी तारामान रावलले कैलालीलगायत सुदूरपश्चिममा देखिएको ग्यास अभावको हल्ला आपूर्ति रोकिएर नभई मागमा अस्वाभाविक वृद्धिका कारणले उत्पन्न भएको बताउनुभयो ।

उहाँले समस्या समाधानका लागि अनुगमनमा जोड दिइएको र उपभोक्तालाई आवश्यकताअनुसार मात्रै सिलिण्डर खरिद गर्न आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.