जन सरोकार

कालिकोट र सिन्धुपाल्चोकमा पहिरो १४ घर पुरिए, छजनाको मृत्यु, ५ घरका सदस्य वेपत्ता

शुक्रबार विहान कालिकोट र सिन्धुपाल्चोकमा पहिरोमा परी १४ घर पुरिएका छन् । समाचार अनुसार कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । बिहिबार राति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए । स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

त्यसैगरी सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।

शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले अनलाइनखबरसँग भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर परिवारका सदस्यहरु सम्पर्कमा हुनुहुन्न । ती पाँच घर परिवारमा कति जना सदस्य हुनुहुन्थ्यो भन्ने पनि पत्ता लागेको छैन ।’

१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।

अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार टोली खटिन सकेको छैन । जुगल गाउँपालिकाका योजना अधिकृत नेपालले भने, ‘उद्धार गर्न एकदमै कठिन छ । पहिरो झरिरहेको छ । हामी हेलिकोप्टर परिचालनको तयारीमा छौं ।’

१९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । यस्तै २४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.