जल/वातावरण

कोरोना संक्रमण र मृत्युदर अत्यासलाग्दो : काठमाडौंका २० प्रतिशतमा कडा लक्षण

सरकारले लकडाउन हटाएयता देशभर कोरोना संक्रमतिको संख्या र मृत्यु अत्यासलाग्दो किसिमले बढेको छ । अन्यत्रको तुलनामा सुरक्षित देखिएको राजधानी उपत्यकामा दुई हप्ताकोबीचमा तेब्बर बढेको छ भने संक्रमितहरुमध्ये २० प्रतिशतमा कडा खालको लक्षण देखिएको छ । उनीहरुको उपचारका लागि बेड अभाव भएको छ ।



स्वास्थ्य मन्त्रालयले नै उपत्यकामा पुष्टि भएका कोरोना संक्रमितमा धमाधम लक्षण लेखिन थालेको बताएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा पुष्टि भएका एक हजार नौ सय ६७ संक्रमितमध्ये २० प्रतिशतलाई कडा खालको लक्षण देखिएको छ ।

लक्षण भएपछि बेड अभावले गर्दा झन्डै नौ सयभन्दा बढी संक्रमित घरमा बसेका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा मात्रै एक सय ७२ जना संक्रमित थपिएका छन् ।

सरकारले चार महिा लामो लकडाउन खुला गरेसंगै कोरोना संक्रमण अनपेक्षित गतिमा भित्रिरहेको छ । कोरोना संक्रमण बढ्न नदिन चाल्नुपर्ने कदमहरुको जिम्मा स्थानीय प्रशासन र तहलाई दिएपछि अहिले देशका आधाभन्दा बढी भूभागमा निषेधाज्ञा जारी गरिएको छ ।

कतै निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यक बाहेकका व्यवसायमा रोक लगाएका छन् । त्यसको स्वरूप भने लकडाउनकै जस्तो छ । आइतबारसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ ।

ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र भने बन्द रहेको मन्त्रालयले जनाएको छ । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ ।

‘रेडजोन’मा भए पनि उपत्यकामा भने पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । मध्यपुर ठिमी नगरपालिकाले लकडाउन नै लागू गरेको छ । कागेश्वरी मनहराले पनि अत्यावश्यकबाहेकको व्यवसाय बन्द गराएको छ ।

उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । अटेर गर्नेहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

सरकारले लकडाउन हटाएपछि संक्रमण धेरै देखिएका जिल्लामा निषेधाज्ञामार्फत लकडाउन लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । कतिपय स्थानीय तहले जिल्ला प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा लकडाउन लागू गरेका छन् ।

सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’मा राखेको छ । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’मा छन् । यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार चार सय २९ र पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् ।

हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य छ ।

सम्बन्धित खबर

Back to top button