केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा रहेका छन् ।
साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए ।
उनीहरूले केवाइसी अपडेट गर्नुपर्ने भन्दै पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने, ओटिपी कोड प्राप्त गर्ने वा ओटिपी कोड माग्ने र त्यसका आधारमा पीडितको बैंक खातामा अनधिकृत पहुँच पुर्याई रकम अन्य खातामा रकमान्तर गरेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट मंगलबार पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।
प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटिपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण मागेमा उपलब्ध नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्