राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सरकार, राजनीतिक दल र सम्पूर्ण राज्य संयन्त्र एकढिक्का भएर राहत, उद्धार र पुनःस्थापनामा जुट्न आह्वान गर्नुभएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले राजनीतिक दलसँग रहेका राहत तथा उद्धारमा दक्ष, जानकार र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरेर प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गर्नुभयो। उहाँले विपद्को समयमा दलगत झण्डाभन्दा राष्ट्रको झण्डामुनि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो।
“यो विपत्तिमा पक्ष–प्रतिपक्ष होइन, हामी सबै सरकारको साथमा छौँ भन्ने उच्च राजनीतिक संस्कार देखिएको छ। राहत र उद्धारमा सबै दल देशको झण्डामुनि एकजुट हुनुपर्छ,” उहाँले भन्नुभयो।
सभापति लामिछानेले बिहानैदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री तथा सम्बन्धित सरकारी निकायसँग निरन्तर सम्पर्कमा रही विपद् व्यवस्थापन र उद्धारबारे छलफल गरिरहेको जानकारी दिनुभयो।
सरकारले नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखी उपलब्ध सबै स्रोतसाधन परिचालन गर्ने विश्वास व्यक्त गर्दै उहाँले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति र आवश्यक साधन तत्काल परिचालन गर्न आग्रह गर्नुभयो।
“नागरिकको ज्यान बचाउनु अहिलेको सबैभन्दा ठूलो प्राथमिकता हो,” उहाँले भन्नुभयो, “सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य नागरिकको सुरक्षामा केन्द्रित गर्नेछ भन्ने विश्वास छ।”
उहाँले बाढी प्रभावित रसुवा, धादिङ, चितवन, नवलपरासीलगायत नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सरकारी निकायको सम्पर्कमा रहन र अफवाहमा विश्वास नगर्न आग्रह गर्नुभयो। साथै अपाङ्गता भएका व्यक्ति, महिला, ज्येष्ठ नागरिक तथा बालबालिकालाई उद्धार र राहतमा पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
रास्वपा समन्वयमा अग्रसर हुने
विपद्को समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउँदै सभापति लामिछानेले दलहरूसँग रहेका राहत तथा उद्धार संयन्त्रलाई सरकारसँग समन्वय गरी परिचालन गर्न आग्रह गर्नुभयो।
२०७२ सालको भूकम्पपछि राजनीतिक दलहरूले देखाएको सहकार्य स्मरण गर्दै उहाँले विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर नागरिकको सेवामा केन्द्रित हुनुपर्ने बताउनुभयो।
उहाँले आवश्यक परे सबै राजनीतिक दलको बैठक आयोजना गरी राहत तथा उद्धार कार्यमा समन्वय गर्ने पहल रास्वपाले गर्ने जानकारीसमेत दिनुभयो।
जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त
सभापति लामिछानेले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकसँग सिङ्गो राष्ट्र रहेको बताउनुभयो। उहाँले विपद्को यस कठिन घडीमा संयमता अपनाउन, राहत तथा उद्धारलाई प्रभावकारी बनाउन र मानवीय सहयोगमा सबै पक्ष एकजुट हुन आग्रह गर्नुभयो।
साथै, उहाँले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित रहेको विश्वास दिलाउँदै प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्नसमेत आह्वान गर्नुभयो।




प्रतिक्रिया राख्नुहोस्