बिशेषराजनीति

विश्व बैंकको २५ अर्ब रुपैयाँ सहयोग गर्ने, भारत र चीनबाट सहयोगको सूची माग

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनःनिर्माणका लागि विश्व बैंकसँगै उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

एआई सिर्जित सांकेतिक तस्वीर

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्र बनाइरहेका बेला विकास साझेदार र छिमेकी मुलुकहरूले आर्थिक तथा मानवीय सहयोगका लागि समन्वय थालेका हुन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार बाढीको जानकारी प्राप्त भएलगत्तै नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले आपत्कालीन सहयोगस्वरूप विभिन्न स्रोतमार्फत रु. २५ अर्बसम्म सहयोग उपलब्ध गराउन सकिने जानकारी गराउनुभएको थियो।

यसैगरी, भारत सरकारले बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री, अर्थमन्त्री तथा अन्य सम्बन्धित मन्त्रीहरूसँग समन्वय गरी भारतबाट पठाइने राहत सामग्रीको पहिलो खेप आजै काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।

उता, चीन सरकारले पनि बाढी प्रभावितका लागि तत्काल नगद सहायता उपलब्ध गराउने तयारी गरेको छ। त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गर्नुभएको जनाइएको छ।

छिमेकी मुलुक तथा विकास साझेदार संस्थाहरूले व्यक्त गरेको सहयोग प्रतिबद्धताप्रति नेपाल सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री डा. वाग्लेले सहयोगको प्रभावकारी परिचालनका लागि सम्बन्धित मुलुक तथा दातृ निकायसँग सहयोगको स्वरूप (मोडालिटी) र कार्यान्वयन प्रक्रियाबारे अन्तरसरकारी समन्वय भइरहेको बताउनुभएको छ।

यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयसँगै प्रभावित क्षेत्रमा स्वदेशी तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने कानुनी र प्रशासनिक आधारसमेत सुदृढ भएको सरकारले जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.