चीनले तिब्बतको ग्यिरोङ क्षेत्रमा गएको विनाशकारी पहिरो तथा बाढी प्रभावित क्षेत्रमा पुनः बाढी आउने उच्च जोखिम देखिएपछि शुक्रबार उद्धार कार्य अस्थायी रूपमा स्थगित गरेको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार पहिरोले थुपारेको विशाल माटो, ढुङ्गा र गेग्रानका कारण बनेको ताल भरिन थालेपछि उद्धार टोली पुग्ने क्षेत्रतर्फ पानी बग्ने जोखिम बढेको हो। यससँगै सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा यथावत् बस्न र अर्को निर्देशनको प्रतीक्षा गर्न भनिएको छ।
यसअघि प्रभावित क्षेत्रमा पुगेका उद्धारकर्मीलाई पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै घटनास्थलबाट करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको छ।
चीन–नेपाल सीमास्थित ग्यिरोङ क्षेत्रमा बुधबार आएको विशाल पहिरोपछि सयौँ व्यक्ति अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। निरन्तर वर्षाका कारण आगामी तीन दिनसम्म तालको जलस्तर थप बढ्ने र सेप्टेम्बर १ तिर उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तालको बाँध फुटेमा ग्यिरोङ बन्दरगाह तथा तल्लो तटीय क्षेत्रमा थप बाढी आउन सक्ने जोखिम रहेको छ। त्यसैले आपत्कालीन प्राविधिक टोलीले तालको अवस्था निरन्तर निगरानी गरिरहेको छ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार शुक्रबारसम्म प्रभावित क्षेत्रबाट ४९९ चिनियाँ नागरिक र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
अझै बेपत्ता व्यक्तिको खोजीका लागि ड्रोनमार्फत त्रि-आयामिक (थ्रीडी) नक्साङ्कन, थर्मल इमेजिङ प्रविधि तथा मानवशक्तिबाट खोजी कार्य जारी रहेको जनाइएको छ।
यही विपद्को प्रभाव नेपालमा पनि परेको छ। चीनतर्फको हिमाली क्षेत्रमा आएको पहिरो र त्यसबाट उत्पन्न बाढी भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गर्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ।




प्रतिक्रिया राख्नुहोस्