जल/वातावरण

ललितपुर, वीरगञ्ज, चितवन र धरानमा गरी थप ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको नेपालमा शनिबार विहान देशका विभिन्न स्थानमा कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान उपत्यकाको ललितपुर, वीरगञ्ज, चितवन तथा धरानमा गरी ६ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयल ललितपुरले जनाएको छ ।

त्यस्तै वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१२ बस्ने ४३ वर्षीय र वीरगञ्ज–२६ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

एक जनाको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । राति ११ः५५ बजे उनको मृत्यु भएको थियो ।

अर्का ३७ वर्षीय युवकको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेको थियो । शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । स्थिति गम्भिर भएपछि तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । राति ११ः४१ बजे मुग्लिङ पुग्दा उनको मृत्यु भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

शुक्रबार राति वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मर्नेको संख्या ४८ जना पुगेको छ । पर्साका मात्रै ३६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

चितवनको चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.