बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
इयूले आज विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायतास्वरुप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो । इयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् ।
“उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो मानवीय सहायताको अतिरिक्त हो । विपद्पछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्वतयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग सुरु गरेका थिए”, विज्ञप्तिमा भनिएको छ । इयूले आफ्नो प्रतिकार्य समन्वय गर्न एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ ।
स्थानीय प्रतिकार्यमा सहयोग पुर्याउन इयूले प्रभावित क्षेत्रको नक्सा उपलब्ध गराउन ‘कोपरनिकस’ भू-उपग्रह सेवा सक्रिय गरेको छ । इयू कमिस्नर फर प्रिपेयर्डनेस एण्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बगेका, गाउँहरू सम्पर्कविहीन भएका र परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेका उल्लेख गर्दै यस बाढीले विगतका विपद्बाट पुनर्निर्माणमा रहेका समुदायलाई थप प्रभावित बनाएको बताउनुभयो ।
उहाँले इयू प्रभावित समुदायको साथमा रहेको उल्लेख गर्दै तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, पानी तथा आश्रयका लागि २० लाख युरो उपलब्ध गराइएको विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्