बिशेषराजनीति

भोटेकोशी विपद् र पुनःस्थापनाबारे प्रधानमन्त्री शाहसँग वर्षमान पुन र कुलमान घिसिङको भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आज भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज तथा उद्धार, उपचार, राहत वितरण, पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधार पुनःसञ्चालनका विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो।

भेटमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउने, बेपत्ता व्यक्तिको खोजीलाई तीव्रता दिने तथा प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्रबीच समन्वय सुदृढ गर्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

त्यसैगरी, भोटेकोशी र त्रिशूली नदी करिडोरमा बाढीका कारण क्षति पुगेका सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् प्रसारण प्रणाली तथा अन्य सार्वजनिक पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा पूर्वकार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधार पुनःसञ्चालनका प्राविधिक पक्ष, क्षति न्यूनीकरण र दीर्घकालीन पुनर्निर्माणका सम्भावित उपायबारे आफ्नो अनुभव प्रस्तुत गर्नुभएको स्रोतले जनाएको छ।

नेता पुनले विपद्पछि प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै सबै राजनीतिक दल र राज्य संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभएको बताइएको छ।

सरकारले भोटेकोशी विपद्पछि खोज तथा उद्धार, राहत वितरण, बेपत्ताको खोजी, क्षतिको मूल्याङ्कन र पूर्वाधार पुनःसञ्चालनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

यसैक्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्न निर्देशन दिँदै आउनुभएको छ।

भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ भने जलविद्युत् आयोजना, सडक, पुल र विद्युत् प्रसारण संरचनामा समेत गम्भीर असर परेको छ।

सरकारले तत्काल राहतसँगै पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणलाई प्राथमिकतामा राखेर आवश्यक योजना अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.