जन सरोकारबिशेष

अपिहिमाल पहिरो : तटीय क्षेत्र र जलविद्युत् आयोजनालाई उच्च सतर्कता अपनाउन आग्रह

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ को भट्टाड क्षेत्रमा शुक्रबार पटकपटक ठूलो पहिरो खस्दा त्यहाँको जनजीवन त्रस्त भएको छ । पहिरोले चमेलिया नदी आंशिक रूपमा थुनिएको छ भने चौलानी नदीको बहाव प्रभावित भएको छ ।

पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्ण रूपमा थुनिने र त्यसपछि एक्कासी बाँध फुटे तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम निम्तिनसक्ने भन्दै दार्चुला र बैतडी प्रशासनले उच्च सतर्कता अपनाएका छन्।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सूचना जारी गर्दै माथिबाट लगातार पहिरो खसिरहेको र नदीको बहाव प्रभावित भएकाले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा अनावश्यक रूपमा नदी आसपास नजान आग्रह गरेको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। घटनास्थलतर्फ नेपाल प्रहरी र स्थानीय प्रशासनको टोली परिचालन गरिएको छ भने नदीको अवस्थाको निरन्तर निगरानी भइरहेको उहाँले बताउनुभयो।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार चमेलिया नदीको बहावमा आएको अवरोधका कारण दार्चुलाको मार्मा र अपिहिमाल गाउँपालिका तथा बैतडीका डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने क्रम नरोकिएको बताउँदै सुरक्षा निकायसँग समन्वय गरेर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको जानकारी दिनुभयो।

तीन जलविद्युत् आयोजना जोखिममा

पहिरो खसेको स्थानभन्दा तल चमेलिया नदीमा सञ्चालित तथा निर्माणाधीन तीन महत्त्वपूर्ण जलविद्युत् आयोजना रहेका छन्। अपिहिमाल र मार्मा गाउँपालिकाको सीमाक्षेत्रमा रहेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सञ्चालनमा छ, जसको इन्टेक (मुख्य बाँध) अपिहिमाल क्षेत्रमा पर्छ।

त्यसैगरी २८.३ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना मार्मा गाउँपालिकामा निर्माणाधीन अवस्थामा छ। यस्तै नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना बैतडीको शैलेश्वर–शिखर क्षेत्रमा सञ्चालनमा रहेको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी अर्यालले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ती आयोजनाका बाँध, सुरुङ, पावरहाउस तथा त्यहाँ कार्यरत कर्मचारीलाई समेत उच्च सतर्कता अपनाउन निर्देशन दिइएको बताउनुभयो। दार्चुला र बैतडी प्रशासनबीच निरन्तर समन्वय भइरहेको उहाँको भनाइ छ।

हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना र नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि हिमाली क्षेत्रमा नदी थुनिने र आकस्मिक बाढी आउने जोखिमप्रति सरकारी निकाय थप संवेदनशील बनेका छन्।

यसअघि पनि देशका विभिन्न हिमाली जिल्लामा पहिरोले नदी थुनिँदा आकस्मिक रूपमा बाँध फुटेर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेका उदाहरण रहेकाले यस घटनालाई पनि उच्च जोखिमका रूपमा हेरिएको छ।

प्रशासनले स्थानीय बासिन्दालाई अफवाहमा नलागी आधिकारिक सूचना पालना गर्न, नदी किनारमा नजान र आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै पहिरोको अवस्था, नदीको बहाव र सम्भावित जोखिमको निरन्तर अनुगमन भइरहेको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.