जन सरोकार

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलले शुक्रबार ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गर्दै सबैभन्दा पहिले समाचार दिने प्रतिस्पर्धाभन्दा सही, पुष्टि भएका र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो ।

निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति, जोखिम क्षेत्र तथा उद्धारसम्बन्धी सूचना आधिकारिक वा अन्य विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र सम्प्रेषण गर्नुपर्नेछ ।

क्षतविक्षत शव, शरीरका अङ्ग स्पष्ट देखिने विभत्स दृश्य, अत्यधिक रक्ताम्मे दृश्य वा तस्बिर, मृतकको अनुहार, गम्भीर घाइतेको पीडादायी सामग्री तथा शोकमा रहेका परिवार वा बालबालिकाका अत्यन्त निजी दृश्य सामान्यतः प्रकाशन वा प्रसारण नगर्न भनिएको छ ।

असाधारण सार्वजनिक हितका कारण संवेदनशील दृश्य प्रयोग गर्नुपरे अनुहार वा पहिचान ढाक्न, दृश्य सीमित गर्न, आवश्यक पूर्वसूचना दिन तथा सम्भव भएसम्म कम हानिकारक वैकल्पिक दृश्य प्रयोग गर्न निर्देशन दिइएको छ ।

वेबसाइट, फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्सलगायत डिजिटल प्लेटफर्मका भिडियो वा सामग्री खोल्नुअघि बाहिरै देखिने सानो तस्बिर मुख्य तस्बिर वा आफैँ चल्ने श्रव्यदृश्यको छोटो भाग (थम्बनेल, कभर वा अटोप्ले प्रिभ्यु)मा समेत विभत्स दृश्य राख्न नहुने काउन्सिलले जनाएको छ ।

पीडितलाई समाचारको विषयमात्र नभई सम्मान र अधिकार भएका नागरिकका रूपमा व्यवहार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । अन्तर्वार्ता लिँदा परिचय र उद्देश्य खुलाउन, सम्भव भएसम्म सचेत सहमति लिन, बोल्न नचाहनेलाई दबाब नदिन तथा मानसिक रूपमा विचलित व्यक्तिलाई बारम्बार प्रश्न नगर्न भनिएको छ ।

बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिँदै रोइरहेका वा त्रसित बालबालिकाको अनावश्यक ‘क्लोजअप’, मृत वा घाइते आफन्तसँगको निजी दृश्य तथा सुरक्षा जोखिममा पार्न सक्ने व्यक्तिगत विवरण सार्वजनिक नगर्न आग्रह गरिएको छ ।

सामाजिक सञ्जालबाट प्राप्त विपद्सम्बन्धी सामग्री पुनःप्रकाशन गर्नुअघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाण गरी पाँच पक्ष पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

पुरानो विपद्को भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता (एआई)बाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ताको सङ्ख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अपनाउन भनिएको छ ।

एआईबाट सिर्जित साङ्केतिक दृश्य प्रयोग गर्दा त्यसलाई वास्तविक घटनास्थलको दृश्यजस्तो भ्रम पर्ने गरी प्रस्तुत गर्न नहुने र ‘एआईद्वारा सिर्जित साङ्केतिक दृश्य’ भनेर स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

काउन्सिलले विपद्का समाचारलाई मृत्यु र विनासमा मात्र सीमित नराखी सुरक्षित स्थान, मौसम तथा पूर्वचेतावनी, अस्पताल, राहत केन्द्र, आपत्कालीन सम्पर्क, उद्धार, पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी उपयोगी सूचनालाई पनि प्राथमिकता दिन आग्रह गरेको छ ।

“सकारात्मक सञ्चारको अर्थ वास्तविकता लुकाउनु होइन; समस्या देखाउँदै समाधान र पुनःउत्थानको बाटोसमेत देखाउनु हो”, निर्देशिकामा भनिएको छ ।

समाचार सङ्कलनका क्रममा उद्धार, एम्बुलेन्स आवागमन, उपचार, सुरक्षाकर्मीको काम वा राहत वितरणमा अवरोध नपुर्याउन तथा पत्रकारले अनावश्यक जोखिम नलिन भनिएको छ ।

गलत सूचना प्रकाशित भएको थाहा हुनासाथ तत्काल सच्याउन, के गलत भएको थियो र सही तथ्य के हो भन्ने स्पष्ट गर्न तथा आवश्यक परे क्षमायाचना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

काउन्सिलले लगातार विभत्स तथा पीडादायी सामग्रीमा काम गर्ने पत्रकार, फोटो पत्रकार, श्रव्यदृश्य सम्पादक र सामाजिक सञ्जाल अनुगमनकर्ताको मानसिक स्वास्थ्यमा समेत सञ्चारमाध्यमले ध्यान दिनुपर्ने जनाएको छ ।

संवेदनशील सामग्री प्रकाशनअघि तथ्यपुष्टि, सुरक्षा, गोपनीयता, बालबालिकाको हित, दृश्यको आवश्यकता र सार्वजनिक हितलगायत विषय समेटिएको ‘१० प्रश्न’ परीक्षण गर्न पनि सम्पादकलाई सुझाइएको छ ।

निर्देशिकाविपरीत सामग्री देखिए पत्रकार आचारसंहिता, कार्यविधि तथा प्रचलित कानुनबमोजिम ध्यानाकर्षण, निर्देशन वा अन्य प्रक्रिया अघि बढाउन सकिने काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.