जन सरोकार

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्त लामो समयसम्म फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् ।

बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि आफन्तजनले हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट शवको प्रतीक बनाएर पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्न थालेका हुन् । पशुपति आर्यघाटमा आज मात्रै सात जनाको कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको घाट सेवा कार्यालयले जनाएको छ ।

बेपत्ता भएको १० दिनसम्म पनि कुनै खबर नआएपछि सिन्धुपाल्चोक-७ का बद्रीकुमार दर्जीले आफ्ना आफन्त ३६ वर्षीय राजकुमार दर्जीको कुशको शव बनाएर अन्तिम संस्कार गर्नुभएको छ ।

“भोटेकोशीको बाढीले हाम्रो आफन्त राजकुमार दर्जी बेपत्ता भएको आज १० दिन भयो । अवस्था पत्ता लाग्न नसकेपछि आज कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरेका छौँ”, उहाँले भन्नुभयो ।

पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएका कम्तीमा १६ जनाको भने शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बाढीमा परी मृत्यु भएकाको शव दाहसंस्कारका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

बेपत्ता आफन्तको खोजीका क्रममा लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि परिवारजन धार्मिक संस्कार पूरा गर्न बाध्य भएका हुन् । आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गर्दै मनलाई केही शान्त पार्ने प्रयास गरिरहेका छन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि सयौँको सङ्ख्यामा मानिस बेपत्ता भएका छन् भने खोजी तथा उद्धार कार्य पनि जारी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.