“जेनजी पुस्ता आयो भने कसैले रोक्न सक्दैन”
सरकारले सर्वाधिक प्रयोग भैरहेको फेसबुक, युटुब लगायतका सामाजिक सञ्जाल बन्द गरेपछि यसको चौतर्फी आलोचना हुँदा सत्तापक्ष दलका सरकार निकटका नेताहरु यसको बचाउ गरिरहेका छन् ।
यसै मेसोमा भोलि सोमबार काठमाडौंमा सरकारले उच्च प्राथमिकता दिएको भनिएको जेन्जी पुस्ता सडकमा उत्रँदैछ । ‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्दै माइतीघर मण्डला र संसद भवन अगाडिबाट आन्दोलनको घोषणा गरेको छ ।
सरकार, सत्तारुढ दलका शीर्षस्थ नेताहरुमाथि सामाजिक सञ्जालबाट चर्को आलोचना हुन थालेपछि यसैलाई रोक्न सञ्जाल बन्द गरेको निष्कर्षसहित डिभाइसमा केन्द्रित पुस्ता सडकमै उत्रन थालेको हो ।
युवाहरुले भदौ २३ गते सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् । यसको नेतृत्व कसले गर्छ, थाहा छैन । कसले सम्हाल्छ थाहा छैन । तर, उद्देश्य छ सत्ताको मनोमानीविरुद्ध ‘जेनजी विद्रोह’ ।
यो आन्दोलन फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको हो । त्यहीबाट टिकटक यो ट्रेन्ड नेपालमा समेत फैलिएको छ । यसमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआरामको जीवनशैली– महँगा ब्रान्डका कपडा, विदेश यात्रा र विलासी सामानलाई साधारण नेपाली युवाको आर्थिक संघर्षसँग तुलना गरिएको छ ।
यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइदिएपछि युवाहरू अझै आक्रोशित भएका हुन् । यसलाई ‘नेपो बेबी’ ट्रेण्ड नाम दिइएको छ।
टिकटक लगायत भिपियन प्रयोग गरी फेसबुकमा समेत पोष्ट गरिएको आन्दोलनको नेतृत्वकर्ता कोही नभए पनि यसप्रति समर्थन गर्ने सूचना प्रविधिको प्रयोगबाटै आयआर्जन गरिरहेका ठूलो समूहको साथ रहने देखिएको छ ।
विश्वमा ठूलठूला आन्दोलन सामाजिक सञ्जालकै प्रभावबाट भएका छन् । नेपालमै पनि यसैको माध्यमबाट बालेन, रवि, हर्कहरुको उदय भएको नकार्न सकिने विषय होइन ।
यस्तै अवस्था आगामी निर्वाचनमा पनि पर्ने भयले अहिले एकथरिमा छटपटी बढेका कारण यस्तो निर्णय सरकारले गरेको टिप्पणी गरिरहेका छन् ।
फेसबुक, युटुब बन्द भए पनि टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ । यसले कतिपयलाई त्रस्त तुल्याएको छ । सरकारमा बसेर, सरकार पक्षधर रहेर सरकारको निर्देशनको अवज्ञा गर्दै अवैध भिपिएन प्रयोग गरी युवाहरुले उठाएको आवाजप्रति विषय ओकल्ने काम नेताहरुबाटै भएको छ ।
फेसबुक बन्द सामान्य जनताका लागि मात्र कि सरकार र सरकार निकटहरुका लागि पनि हो र सरकारले अवैध ठहर गरेको कुरा सरकारकै पक्षधरहरुले अवैध रुपमै चलाएर जनताको भावनामाथि प्रश्न उठाउनु कति जायज हो ?
स्वयं प्रधानमन्त्री, मन्त्री, सत्तारुढ दलका शीर्षस्थ नेताहरु अहिले पनि फेसबुकबाट आफ्ना धारणा, गतिविधि र विषयगत सूचनाहरु प्रवाह गरिरहेका छन् । यसलाई सामान्य जनताले कसरी बुझ्ने ? के बन्द, प्रतिबन्ध सर्वसाधारणलाई मात्र हो ? यो देशमा विगार्ने, नियम नमान्ने तिनीहरु नै हुन् र ?
यो प्रदर्शनप्रति राजनीतिक नेतृत्व, सामाजिक अगुवा तथा बुद्धिजवी एवं पत्रकारहरुको ठूलो नैतिक समर्थन रहेको छ । सत्तानिकट रहेकाहरुले युवाहरुको भावनालाई राजनीतिक स्वार्थको जामा पहिराएर गलत सावित गर्न खोज्नु आफैंमा उदेकलाग्दो कुरा हो ।
खुसी, सुखी र आफ्नै पारामा रमाउने यो पुस्ता किन सडकमा उत्रन बाध्य भयो भन्ने स्थापित राजनीतिक नेतृत्व, सरकार, बुद्धिजीवी, समाजशास्त्री, अर्थशास्त्री, नीति निर्माता, योजनाविद्, कार्यान्वयनकर्ता सबैले गम्भीर भएर सोच्नु आवश्यक छ ।
यसलाई यवाहरुको क्षणिक आवेगको उपजका रुपमा मात्र नलिएर शासकहरुले भावी बाटो तय गर्ने अवसर र गल्ती सुधार्ने उपयुक्त क्षणका रुपमा लिएर आफूलाई सच्याउने र युवाहरुमा भरोसा जगाउने गरी गतिविधि गर्न अब ढिला नगरौं ।
नारामा धेरै कुरा भएका छन्, जेन्जी पुस्ताका गुणगान गाएर उनीहरुलाई विदेश पलायन हुने ढोका मात्र खोलिरहने परिपाटी बन्द गर्दै आर्थिक, सामाजिक विकासमा युवा सहभागितालाई व्यापक बनाउने नीति व्यवहारमै नअपनाउने हो भने यो पुस्ताको राजनीतिक नेतृत्व इतिहासमा ठूलै अपगालको भारी बोक्न पर्नेछ ।
यी र यस्तै अनेक प्रश्नहरुको भारी बोकेर जेन्जी पुस्ता सडकमा उत्रँदै गरेको निष्कर्ष राजनीतिक विश्लेषकहरुले निकालिरहेका बेला सरकारले के गर्छ ? यो प्रतिक्षाको विषय छ ।




प्रतिक्रिया राख्नुहोस्