राजनीति

ग्यास अभाव समाधानका लागि सरोकार पक्षको बैठक प्रत्यक्ष प्रसारण गर्न सांसद श्रेष्ठको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले मुलुकमा देखिएको एलपी ग्यासको अभाव तथा वितरण समस्याको वास्तविक अवस्था जनतालाई स्पष्ट जानकारी गराउन सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी र वितरकलाई सहभागी गराई बैठक गरी त्यसलाई प्रत्यक्ष प्रसारण (लाइभ) गर्न सुझाव दिनुभएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले ग्यासको आपूर्ति पूर्ण रूपमा बन्द नभएको तर वितरण प्रणालीमा समस्या देखिएकाले कृत्रिम अभाव सिर्जना भएको हुन सक्ने उल्लेख गर्नुभयो।

उद्योगीहरूले ढुवानी तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाए समस्या सहज रूपमा समाधान हुन सक्ने उहाँको भनाइ थियो।

उहाँले ग्याससँग सम्बन्धित सबै सरोकारवालालाई एउटै मञ्चमा राखेर खुला छलफल तथा प्रत्यक्ष प्रसारण गरिए समस्याको वास्तविक कारण सार्वजनिक हुने र जनतामा देखिएको अन्योल पनि हट्ने बताउनुभयो।

साथै, उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गर्दै अभावको अवस्थामा जिम्मेवार उपभोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

सांसद श्रेष्ठले सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी, वितरक र उपभोक्ता सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरे ग्यास संकट समाधान गर्न कठिन नहुने पनि बताउनुभयो।

यसअघि बुधबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति समितिको बैठक मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले पर्याप्त परिमाणमा ग्यास आयात भइरहे पनि उपभोक्तासम्म सहज रूपमा नपुगेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो।

उहाँले ग्यास उद्योगी तथा सम्बन्धित पक्षबाट अपेक्षित सहयोग नपाएको उल्लेख गर्दै, “पर्याप्त ग्यास आएको भनिन्छ, तर बीचमै हराइरहेको छ। त्यो ग्यास कहाँ गयो? यसरी त चल्दैन,” भन्दै वितरण प्रक्रियामाथि प्रश्न उठाउनुभएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.