राजनीति

‘पार्टी एकताका लागि नरम, सुधारमा निर्मम हुन्छु’ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको एकतालाई थप सुदृढ बनाउन आफू आवश्यक परे अझै नरम भएर अघि बढ्न तयार रहेको बताउनुभएको छ।

नेपाली कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिका अवसरमा आज आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई बलियो र एकताबद्ध बनाउने जिम्मेवारी आफूले जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताउनुभयो।

“पार्टीलाई एकताबद्ध गर्नका लागि म नरम हुन पनि तयार छु,” उहाँले भन्नुभयो, “म नरम पनि छु। तर पार्टीभित्र रहेका कमी–कमजोरी हटाउन आवश्यक पर्दा निर्मम निर्णय पनि लिनुपर्छ। त्यो सजिलो छैन, तर पार्टीको हितका लागि आवश्यक कदम चाल्न म पछि हट्दिनँ।”

उहाँले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनु वर्तमान नेतृत्वको प्रमुख दायित्व रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई एकताको भावनाका साथ अघि बढ्न आग्रह गर्नुभयो।

देशले सामना गरिरहेका जटिल परिस्थितिमा नेपाली कांग्रेसले सधैं जिम्मेवार भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले जनतामा विश्वास र भरोसा कायम राख्दै लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी निरन्तर लागिरहने बताउनुभयो।

साथै, स्वर्गीय गोपालमान श्रेष्ठले पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान स्मरणीय रहेको उहाँको भनाइ थियो।

सभापति थापाले विपद्को समयमा सरकारको आलोचना गर्नेभन्दा उद्धार, राहत र पुनःस्थापनामा सबै पक्ष एकजुट हुनुपर्ने धारणा पनि राख्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायतका वक्ताहरूले स्वर्गीय गोपालमान श्रेष्ठले पार्टी र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.