राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी
जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा अन्तरिम सरकार गठनका लागि नेपाली सेनाको अग्रसरताप्रति शंका उत्पन्न हुन थालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्नुभएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवासमा आगो लगाइएपछि बाहिरिनुभएका पौडेल त्यसयता सार्वजनिक रुपमा नदेखिएपछि उहाँको खोजी हुन थालेको थियो ।
यसबीच आज भदौ २६ गते बिहिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफू हर प्रयासमा रहेको जानकारी दिनुभएको छ ।
विज्ञप्तिमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गर्दै देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिनुभएको हो ।
उहाँले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताउँदै आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्