बाढी-पहिरोले क्षतविक्षत सिन्धुपाल्चोक : फेरि पुुर्यो बस्ती, तीनजनाको मृत्यु १५ जना वेपत्ता
पहिरो र बाढीले वितण्डा मच्चाइरहेको सिन्धुपाल्चोकमा पुनः पहिरो गएको छ । शनिबार राति जिल्लाको बाह्रविसे नगरपालिकामा पहिरो जाँदा १८ वटा घर बगाएको छ भने १५ जना बेपत्ता भएका छन् ।
नगरपालिकाको नागपुजे र भिरखर्कमा पनि घर बगाएको र ३ जनाको मृत्युभएको नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले बताउनुभएको छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताउँदै घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको तर तर कति भन्ने थाहा नभएको जानकारी दिनुभएको छ ।
उद्धारका लागि घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताउनुभयो । शनिबार राति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।
बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आइतबार बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्