जन सरोकार

राससका पूर्वअध्यक्ष झालाई ‘एक्सिलेन्स इन कर्पोरेट लिडरसिप अवार्ड’

राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष धर्मेन्द्र झालाई ‘एक्सिलेन्स इन कर्पोरेट लिडरसिप अवार्ड’ प्रदान गरिएको छ । सिजन मिडियाले आइतबार ललितपुरमा आयोजना गरेको सातौँ संस्करणको ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६ मा झालाई सो अवार्ड प्रदान गरिएको हो ।

पत्रकारिता, मिडिया प्रशिक्षण, लेखन तथा नेपालमा प्रेस स्वतन्त्रता र सूचनाको हकको प्रवद्र्धनमा झन्डै चार दशकदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा झासहित उद्योग, व्यवसाय, ऊर्जा, बैङ्किङ, बीमा, पर्यटन, आतिथ्य, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका नेपाल तथा विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई ‘औद्योगिक नेतृत्वमा दीर्घसेवा सम्मान’ प्रदान गरिएको थियो । त्यसैगरी, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटालाई ‘दिग्गज सङ्गीत साधक सम्मान’, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ‘सहरी विकास तथा सार्वजनिक सेवामा दूरदर्शी नेतृत्व सम्मान’, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलाई ‘आतिथ्य उद्योग नेतृत्व उत्कृष्टता सम्मान’ तथा हाइलाइफ एग्रो फुड्स इन्डस्ट्रिजका अध्यक्ष अम्बिकाप्रसाद पौडेललाई ‘उत्कृष्ट व्यावसायिक नेतृत्व सम्मान’ प्रदान गरिएको थियो ।

त्यसैगरी, बिजी ग्रुपका प्रबन्ध निर्देशक गणेश कार्कीलाई ‘ऊर्जा नेतृत्व उत्कृष्टता सम्मान’, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष भीमप्रसाद घिमिरेलाई ‘औद्योगिक तथा व्यावसायिक नेतृत्व उत्कृष्टता सम्मान’ तथा साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई ‘उत्कृष्ट संस्थागत नेतृत्व सम्मान’ प्रदान गरिएको थियो ।

सहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक विश्व पोखरेल, मेटलाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, गरिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, नेपाल वायुसेवा निगमकी वरिष्ठ क्याप्टेन भावना पन्त र इना सेन्टरका प्रमुख कार्यकारी अधिकृत उद्धव बर्तौलालाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी, फेसियल हाउसकी अध्यक्ष सुष्मा महरा, कङ्गारु एजुकेसन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिना, वरिष्ठ समाचार प्रस्तोता समा थापालगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी, जापान, भारत, मलेसिया, बङ्गलादेश र चीनबाट सहभागी भएका व्यक्तिलाई पनि अन्तरराष्ट्रिय विधाअन्तर्गत विभिन्न सम्मान प्रदान गरिएको थियो ।

जापानका फोटो पत्रकार नोबोरु ताकाओका, भारतका वरिष्ठ फोटो पत्रकार पुरुषोत्तम दिवाकर, मलेसियाका अन्तरराष्ट्रिय ड्रोन उड्डयन महासङ्घका अध्यक्ष चेओङ क्वेई सेङ, बङ्गलादेशका पानीमुनि फोटोग्राफीमा सक्रिय फोटो पत्रकार शरीफ सरवर, चीनका शिक्षा प्रविधि क्षेत्रका व्यवसायी जोएसन चेन तथा सञ्चार तथा सामाजिक सल्लाहकार वेनी काईलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।

समारोहमा सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले अवार्ड कुनै ट्रफी वा प्रमाणपत्रमा मात्र सीमित नभई विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिको मेहनत, सङ्घर्ष, उपलब्धि र सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भएकालाई सम्मान गरिएको बताउनुभयो ।

समारोहमा नेपालका लागि बङ्गलादेशका राजदूत एम्डी सफिक रहमान, उद्योगी–व्यवसायी, सञ्चारकर्मी, कलाकार, समाजसेवी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.