क्रिकेटखेल

भारतीय महिला क्रिकेट टोलीद्वारा एसिया कप ट्रफी लिन अस्वीकार

भारतीय महिला क्रिकेट टोलीले एसिया कपको उपाधि जिते पनि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसियाली क्रिकेट काउन्सिलका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेको छ ।

भारतले आइतबार दुबईमा भएको टी–२० फाइनलमा श्रीलङ्कालाई ७२ रनले पराजित गरेपछि ट्रफी वितरण समारोहमा सहभागी नभई गत वर्षको पुरुष टोलीको घटनालाई दोहोर्याएको हो ।

भारत र पाकिस्तानबीच लामो समयदेखि कायम राजनीतिक तनावको प्रभाव क्रिकेटमा समेत देखिँदै आएको छ । नकवी पाकिस्तानका गृहमन्त्रीसमेत हुनुहुन्छ । उहाँले नै एसियाली क्रिकेट काउन्सिलको प्रमुखका रूपमा भारतलाई ट्रफी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको थियो ।

भारतीय महिला टोलीका प्रशिक्षक अमोल मुजुमदारले ट्रफी नलिने निर्णय भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले गरेको बताउनुभयो । “यो कदम बिसिसिआईले लिएको हो र हामी यसको पक्षमा छौँ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो, “हामी च्याम्पियन हौँ, यो पर्याप्त छ ।”

आइतबारको ट्रफी वितरण समारोह करिब ५० मिनेट ढिलो सुरु भएको थियो । नकवीले उपविजेता श्रीलङ्काका खेलाडीलाई पदक वितरण गरेपछि समारोह अचानक समाप्त भएको थियो । भारतीय खेलाडीलाई पदक प्रदान गर्ने क्रममा बिसिसिआईका सचिव देवजित साइकिया र उपाध्यक्ष राजीव शुक्ला मैदानमा उपस्थित हुनुहुन्थ्यो ।

गत वर्षको पुरुष एसिया कपको फाइनलमा पाकिस्तानलाई पराजित गरेको भारतले पनि नकवीबाट ट्रफी लिन अस्वीकार गरेको थियो । यसपटक महिला टोलीले पनि त्यही निर्णय दोहोर्याएको हो । आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबीचको लामो समयदेखिको तनावका कारण दुवै देशबीचको क्रिकेट सम्बन्धसमेत प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.