घरजग्गा व्यवसायीले उत्पादनमूलक कामलाई प्राथमिकता दिनुपर्यो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा व्यवसायीलाई घर ठड्याउनेतिर मात्र नलागी उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आइतबार नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्यात गर्न सकिने गरी उत्पादनमूलक काममा लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।
उहाँले बसोबासका लागि आवश्यक हुने घरजग्गाको कारोबार नियमित रुपमा हुने भए पनि धेरै लगानी गरेर लामो सयम खाली हुने ‘अपार्टमेन्ट’हरु सहरमा देखिने स्थिति हुँदा त्यसले तत्काल प्रतिफल नदिने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास दिलाउनुभयो ।
सो अवसरमा महासङ्घका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले व्यवस्थित एवं वैज्ञानिक सहरीकरण विकास गर्न, काठमाडौँ महानगरपालिकाबाट सूचना गरिएको नदी किनाराबाट थप २० मिटरको मापदण्ड कार्यान्वयन हुन नहुने माग राख्नुभयो ।
त्यसै गरी निजी क्षेत्रको सहकार्यमा जग्गा विकास कार्यक्रम ल्याउनुपर्ने, सहरी विधेयक ल्याउनुपर्ने, घरजग्गा कारोबारलाई ‘डिजिटलाइज्ड’ गर्नुपर्नेलगायत माग महासङ्घले प्रधानमन्त्री ओली समक्ष राखेको थियो ।
प्रतिक्रिया राख्नुहोस्