जन सरोकार

तीजको रौनकता बाढीपीडितको पीडामा

यस वर्षको तीजमा दिदीबहिनीहरु रौनकतामा होइन, मानिसका पीडामा मलम लाउन जुटेका छन् । तीज भन्ना साथ चेलीबेटी माइती जाने, दर खाने, नयाँ लुगा लगाउने, जम्मा भएर नाचगान गर्ने र सुखदु:ख साटेर रमाइलो गर्ने पर्वका रूपमा बुझिन्छ ।

लुगा, चुरा तथा गरगहना किनमेल गर्नेको चहलपहल र विभिन्न स्थानमा नाचगान गर्ने महिलाको भीडले पर्वको रौनक बढाउँछ । स्थानीय तह, महिला समूह, आमा समूह, सहकारी तथा विभिन्न सङ्घसंस्थाले दर खाने कार्यक्रमसँगै तीज गीत प्रतियोगिता आयोजना गर्छन् ।

नयाँ लुगा र गरगहना लगाउनेदेखि माइती जाने र दिदीबहिनी भेट्ने तयारीले पर्वको उत्साह बढाउँछ । तर यस वर्षको तीज विगतजस्तो छैन । चेलीबेटी भेला भएका छन्, भारीमनले । कतैकतै मात्र तीजका गीत गुन्जिएका छन् ।

तर ती गीत र भाकामा विगतको जस्तो खुसीभन्दा रसुवाको बाढीले दिएको पीडा र बेपत्ता आफन्तको प्रतीक्षा बढी सुनिन थालेको छ । रसुवामा आएको विनाशकारी बाढीका कारण देश नै शोकमा रहेका बेला कैलालीका नागरिकसमेत बेपत्ता छन् ।

त्यसैले कैलालीकाका धेरै परिवारका लागि तीज संवेदनाको पर्वमा रुपान्तरण बनेको छ । आफन्तको खबरको प्रतीक्षामा रहेका परिवार मात्रै होइन, जिल्लाका अन्य नागरिकमा समेत घटनाप्रति चिन्ता र पीडा छ । यही अवस्थाका कारण यस वर्ष तीजका धेरै जसो कार्यक्रम स्थगित भएका छन् ।

रसुवा बाढीले फेरिदियो तीजको माहोल

रसुवाको बाढीपछि कैलालीका नागरिक बेपत्ता भएको खबरले जिल्लाका धेरै परिवारलाई चिन्तामा पारेको छ । रोजगारी, व्यवसाय वा अन्य कामका सिलसिलामा घरबाट टाढा रहेका आफन्त विपद्पछि सम्पर्कविहीन भएपछि उनीहरूका परिवारका लागि तीजभन्दा आफ्ना मान्छेको अवस्था थाहा पाउनु ठूलो कुरा बनेको छ ।

तीज दिदीबहिनी भेट्ने, माइती जाने र सुखदु:ख साट्ने अवसर हो । वर्षभरि घरबाट टाढा रहेका आफन्त चाडपर्वमा फर्किने आशा परिवारमा हुन्छ । केही परिवार आफन्त सकुशल फर्किने प्रतीक्षामा छन् ।

उहाँहरुका लागि तीजको तयारीभन्दा आफन्तको खबर महत्त्वपूर्ण छ । घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया चौधरीले धेरै जना बेपत्ता भएकाले यसवर्ष नगरपालिकाले तीजका कार्यक्रम आयोजना नगर्ने निर्णय भएको बताउनुहुन्छ ।

“रसुवाको बाढीमा कैलालीका धेरै जना सम्पर्क बाहिर हुनुहुन्छ । धेरै परिवार आफन्तको खबरको प्रतीक्षामा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा तीज रमाइलासँग गर्न उचित लागेको छैन ।”

“तीज मनाउँनै हुँदैन भन्ने होइन”, उहाँले भन्नुभयो, “तर अहिले देशका विभिन्न ठाउँमा विपद्को पीडा छ । कैलालीकै नागरिकसमेत बेपत्ता छन् । यस्तो बेला हामीले आफ्नो खुसीसँगै पीडित परिवारलाई पनि सम्झनुपर्छ ।”

कैलालीको जोशीपुर गाउँपालिकामा यस वर्ष तीज कार्यक्रम आयोजना गरिएको छैन । गाउँपालिका उपाध्यक्ष रेखादेवी कठरियाका अनुसार अघिल्ला वर्षमा गाउँपालिकाका विभिन्न वडामा तीज विशेष कार्यक्रम आयोजना गरिँदै आए पनि यस वर्ष रसुवामा आएको बाढीका कारण कार्यक्रम आयोजना गरिएको छैन ।

उहाँले विपद्को पीडामा रहेका परिवारप्रति संवेदनशील हुँदै यस वर्ष तीजका कार्यक्रम नगर्ने निर्णय गरिएको बताउनुभयो । घोडाघोडी र जोशीपुर गाउँपालिकासँगै अन्य पालिकामा पनि यस वर्ष तीजको रौनक छैन ।

नगरपालिकाले कार्यक्रम नगर्ने निर्णय गरेका बेला विभिन्न समूहले कार्यक्रम स्थगित गरेका छन् । घोडाघोडी महिला सञ्जालले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्यो ।

रसुवामा बाढी आएपछि कार्यक्रम स्थगित गरिएको सञ्जालकी कोषाध्यक्ष दुर्गा सापकोटाले बताउनुभयो । उहाँका अनुसार पर्वका अवसरमा हुने खर्चलाई मनोरञ्जनमा मात्र केन्द्रित गर्नुभन्दा विपद्मा परेकालाई सहयोग गर्नु आवश्यक ठानेर कार्यक्रम रोकिएको हो ।

सञ्जालमा आबद्ध महिला समूहका सदस्यहरूले दर खाने कार्यक्रम नगरी व्यक्तिगत रूपमा बाढीपीडितलाई सहयोग गरेका छन् । “तीजमा दर खाने र कार्यक्रम गर्ने योजना थियो । तर रसुवामा बाढी आएपछि त्यस्तो अवस्थामा रमाइलो गर्नुभन्दा पीडितलाई सहयोग गर्नु उचित लाग्यो”, सापकोटाले भन्नुभयो ।

तीजका लागि गरिने खर्च र तयारीलाई यस पटक सहयोगमा बदल्ने सोच व्यक्तिगत तहमा पनि देखिएको छ । घोडाघोडीकी सुष्मा विष्टले तीज मनाउनुभन्दा बाढीपीडितलाई सहयोग गर्नु उचित ठानेको बताउनुभयो ।

“यस पटक तीज मनाउनभन्दा बाढीपीडितलाई सहयोग गरौँ भन्ने लाग्यो । आफन्त बेपत्ता भएको र धेरै परिवार पीडामा रहेका बेला रमाइलो गरेर मात्र बस्न मनले मानेन”, विष्टले भन्नुभयो । उहाँका अनुसार तीजका अवसरमा गरिने खर्चको केही हिस्सा भए पनि विपद्मा परेकालाई सहयोग गर्न सके त्यसले पीडामा रहेका परिवारलाई राहत पुग्नेछ ।

व्यक्तिगत खुसीभन्दा सामूहिक पीडालाई प्राथमिकता दिनुपर्ने अवस्था अहिले रहेको उहाँको भनाइ छ ।

तीजका भाकामा रसुवाको पीडा

तीज गीत नेपाली महिलाको मनको आवाज हो । परम्परादेखि नै महिलाले आफ्ना दुःख, पीडा, आशा र सामाजिक अवस्थालाई गीतमार्फत अभिव्यक्त गर्दै आएका छन् । समयसँगै तीज गीतका विषय पनि परिवर्तन हुँदै आएका छन् ।

पहिलेका तीज गीतमा माइतीघरको सम्झना, चेलीका दुःख, घरपरिवार र सामाजिक सम्बन्धका विषय बढी सुनिन्थे । पछिल्लो समय महिला हिंसा, बालविवाह, दाइजो, वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य, महिला अधिकार तथा सामाजिक विकृतिका विषय पनि तीज गीतमा समेटिन थालेका छन् ।

यस वर्ष भने प्राकृतिक विपद् र बेपत्ता नागरिकको पीडा पनि तीज गीतको विषय बनेको छ । घोडाघोडी नगरपालिका–१० मा आयोजित प्रथम बुलबुले तीज प्रतियोगितामा सहभागी महिला समूहले रसुवा बाढीबाट प्रभावित परिवारको अवस्थालाई गीतमा उतारे । बाढीमा ज्यान गुमाएका, बेपत्ता भएका र आफ्ना आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडा उनीहरूको प्रस्तुतिमा झल्किएको थियो ।

प्रतियोगितामा सहभागी यम पोखरेलको समूहले भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित गरिमा चौधरीको अवस्थालाई तीज गीतमार्फत प्रस्तुत गरेका थिए । समूहले विपद्मा परेका परिवारको पीडा, आफन्तको खोजी र उनीहरूले भोगिरहेका अवस्थालाई गीतका माध्यमबाट दर्शकमाझ पुर्याएको थियो ।

पोखरेलले समाजले भोगिरहेको पीडालाई गीतमार्फत बोल्न आवश्यक ठान्दै भोटेकोशी बाढी र गरिमा चौधरीको अवस्थालाई आफ्नो प्रस्तुतिमा समेटिएको बताउनुभयो ।

“अहिले तीज मनाइरहँदा रसुवाको बाढी र त्यहाँ प्रभावित भएका परिवारको पीडा हाम्रो मनमा छ । त्यसैले हामीले भोटेकोशीको बाढी र गरिमा चौधरीको अवस्थालाई गीतमार्फत प्रस्तुत गरेका हौँ”, उहाँले भन्नुभयो ।

मञ्चमा सारी लगाएका महिला थिए । मादल बजिरहेको थियो । नृत्य पनि भइरहेको थियो । तर गीतका शब्दमा भने रसुवाको बाढी, बेपत्ता नागरिक र पीडित परिवारको अवस्था थियो । त्यसैले प्रस्तुति मनोरञ्जनमा मात्र सीमित रहेन, समसामयिक विपद्प्रतिको सामूहिक संवेदनाको अभिव्यक्ति बन्यो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.